चार महिनाको अन्तरमा दुईवटा दुर्घटना, हेलिकोप्टरविहीन भयो मनाङ एयर

मनाङ एयरको हेलिकप्टर शनिबार बिहान सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको छ । नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलका अनुसार लुक्लाबाट बिहान ७ बजेर १३ मिनेटमा सोलुखुम्बुमा पर्यटक लिन गएको मनाङ एयरको ९ एन–एएनजे कलसाइनको हेलिकप्टर अवतरण गर्ने बेला दुर्घटनामा परेको हो ।

चार महिना अन्तरमा मनाङ एयरका दुईवटा हेलिकोप्टर दुर्घटनामा परेपछि मनाङ एयर हेलिकोप्टरविहीन भएको छ। २०८० असार २६ गते लुक्लाबाट काठमाडौं आउने क्रममा दुर्घटनामा पर्दा पाइलटसहित ६ जनाको ज्यान गएको थियो ।

आज भएको दुर्घटनामा परी पाइलट प्रकाश सेढाईं गम्भीर घाइते भएका छन् भने हेलिकोप्टर जलेको अवस्थामा भेटिएको छ । हेलिकप्टरमा पाइलट मात्रै सवार थिए ।

दुर्घटनाको कारण खुलिसकेको छैन । असन्तुलित भएर हेलिकप्टर दुर्घटना भएको अनुमान गरिएको छ । आज दुर्घटनामा परेको मनाङ एयरको यो एउटा मात्रै हलिकप्टर हो । जहाज लुक्लामै रहेको थियो । अब मनाङ एयर हेलिकोप्टरविहीन भएको छ ।

गत असारमा पर्वतीय उडान सकेर फर्किंदै गरेका ५ मेक्सिकन नागरिक सवार मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा पाइलटसहित ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो । सोलुखुम्बुको लिखुपिके–५ लामजुरानजिक भएको दुर्घटनामा क्याप्टेन चेतबहादुर गुरुङसँगै मेक्सिकोबाट नेपाल भ्रमणमा आएका तीन महिला र दुई पुरुषको मृत्यु भएको थियो  ।

सन् २०२३ मा मुलुकमा पाँचवटा हेलिकोप्टर दुर्घटनामा परेका छन् । यीमध्ये मानवीय क्षति हुने गरी दुइटा हेलिकोप्टर दुर्घटना भएका छन् । पहिलो हेलिकोप्टर दुर्घटना भएको ४४ वर्षयता नेपालमा दर्ता भएका ३९ वटा हेलिकोप्टर दुर्घटना भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार