तीनकुने हत्याकाण्डका अभियुक्तको बयान: बहिरालाई गरिने विभेदका कारण धेरै मान्छे मारेको छु

गत भदौ २९ गते राति काठमाडौँको तीनकुनेस्थित दिव्य सःमिलमा भएको चारजनाको बीभत्स हत्याको अनुसन्धान सकिएको छ । प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जिल्ला अदालतमा हत्यामा संलग्न सञ्जय भण्डारीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।

काष्ठ उद्योगभित्र दोलखाको कालिञ्चोक गाउँपालिका ८ का कुमार भुजेल भन्ने पूर्णबहादुर भुजेल, उनका श्रीमती अम्बिका भुजेल र आमा शुभद्रा भुजेल, धनकुटा भीरगाउँ घर भई हाल मोरङको बेलबारी नगरपालिका २ बस्ने १९ वर्षीय नवीन राईको हत्या भएको थियो ।

राईले चलाएको मोटरसाइकलले ठक्कर दिएको झोँकमा एक जनाको हत्या गर्न जाँदा अरु पनि परेको भण्डारीले बयान दिएका छन् ।

सरकारी वकिलको रोहबरमा प्रहरीसँग दिएको बयानमा उनले भनेका छन्, ‘म तीक्ष्ण क्षमता भएको व्यक्ति हुँ, एकपटक देखेको व्यक्तिलाई सधैं चिन्न सक्छु र हरेक कुरा लामो समयसम्म दिमागमा राख्न सक्छु ।’

मोटरसाइकलले ठक्कर दिँदा चालकको अनुहार, आँखा, शरीरको जिउडाल लगायतका हुलिया राम्रोसँग नियालेका कारण स्मरण भइहेको उनले बताएका छन् ।

भण्डारीलाई घटनाको दुई दिनपछि भदौ ३१ गते काठमाडौँ प्रहरी परिसरले पक्राउ गरेको थियो । घटनामा प्रयोग गरिएका हतियार र त्यतिबेला लगाएका लुगासहित उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

घटनापछि उनी भाग्दै गरेको सीसीटीभी फुटेजबाट पनि उनैले हत्या गरेको पुष्टि हुने प्रहरीको दाबी छ । भण्डारी सुन्न नसक्ने (अपांगता भएका) व्यक्ति हुन् । उनीसँग प्रहरीले सांकेतिक भाषाविद् झिकाएर बयान लिएको थियो ।

भण्डारीले बहिराप्रति गरिने सामाजिक विभेदका कारण रातोपुल, धुम्बराही, भत्केको पुल, भाटभटेनी, बौद्ध, भक्तपुरको बोडे, सिन्धुपाल्चोकको दुवाचौर, पाँचपोखरी र नाम्चेमा विभिन्न मितिमा मान्छे मारेको भनेका छन् ।

उनले यो बयान सांकेतिक भाषाका दोभाषे राष्ट्रिय बहिर संघ नेपालका अध्यक्ष केपी अधिकारी र जनक पौडल समेतको रोहबरमा दिएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार