भारतीय प्रधानमन्त्री मोदीले कालापानी क्षेत्रको भ्रमण गरेकोमा जनमोर्चाको आपत्ति

राष्ट्रिय जमोर्चा पार्टीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अतिक्रमित भूमि कालापानी क्षेत्रमा गरेको भ्रमणबारे आपत्ति जनाएको छ ।

नेपाललाई जानकारी नै नदिइ नेपाली भूमिका भारतीय प्रधानमन्त्रीले भ्रमण गरेको भन्दै जनमोर्चाले विरोध जनाएको हो । आज विज्ञप्ति निकालेर जनमोर्चाले नेपालको कालापानी क्षेत्रमा पर्ने गुञ्जी गाउँमा नेपाललाई पूर्व जानकारी नगराइ वा अनुमति नलिइ भएको मोदीको भ्रमणको विरोध गरेको हो ।

‘भारतीय साम्राज्यवादले कालापानी क्षेत्रलाई कब्जा गरेर भारतीय संघमा मिलाउनका लागि लामो समयदेखि विभिन्न षड्यन्त्र गर्दै आएको छ । अहिलेको उन (मोदी)को भ्रमण त्यसैको एउटा कडी हो । भारतीय प्रधानमन्त्रीको भ्रमणबाट पनि कालापानी क्षेत्रको अतिक्रमित भू–भाग भारतले सहज रुपमा छोड्ने र आफ्ना सेना फिर्ता लैजाने पक्षमा नभएको नै देखाउँछ । त्यसैले कालापानीको विवादलाई अन्तर्राष्ट्रियकरण गरिनु पर्दछ,’ जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

भारतीय साम्राज्यवादले कालापानी क्षेत्रलाई कब्जा गरेर भारतीय सङ्घमा मिलाउनका लागि लामो समयदेखि विभिन्न षड्यन्त्र गर्दै आएको पनि जनमोर्चाको आरोप छ ।

बिहीबार नेपालसँग सीमा जोडिएको पहाडी राज्य उत्तराखण्ड आएका भारतीय प्रधानमन्त्री मोदीले नेपालको अतिक्रमित भूमि कालापानी क्षेत्रमा पनि पुगेका थिए । मोदीको यो भ्रमणबारे पूर्व जानकारी नभएको सरकारले जनाएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार