विन्ध्यवासिनीमा नवदुर्गा महोत्सवको तयारी

पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव हुने भएको छ । घटस्थापनाको दिन सुरु हुने महोत्सव नवमीसम्म चल्नेछ ।

घटस्थापनाको दिन नवदुर्गाको शोभा यात्रा गरिने विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले बताए ।

घटस्थापनाको दिन पोखराको सबै साँस्कृति झाँकी अवलोकनको महोल सिर्जना गरेको उनको भनाइ छ ।
‘सिंगो पोखराको विविधतालाई अनुभव गर्ने यो अवसर हुनसक्छ । हामीले यो विजयादशमीलाई सबै धर्मालम्बीहरु एकसाथ मनाउन सकिने परिस्थितीमा लान सकिन्छ भन्ने सोचका साथ आरम्भ गरेका हौं’, उनले नवदुर्गा महोत्सवबारे प्रस्ट पारे ।

नवदुर्गा महोत्सव अवधिभर बिहान ९ बजेदेखि १२ बजेसम्म र दिउँसो २ बजेबाट ४ बजेसम्म संगीतमय कथा वाचन हुनेछ ।

विगतदेखि शक्तिस्थलका रुपमा पुँजिदै आएको विन्ध्यवासिनी मन्दिर २५० वर्ष पुरानो रहेको अनुमान छ । विन्ध्यवासिनीमा गुरुकुल विद्याश्रम पनि सञ्चालित छ । २०५१ सालमा स्थापित विद्याश्रममा कक्षा ६ देखि १० सम्म निःशुल्क आवासीयरुपमा अध्यापन कार्य सञ्चालित छ ।

यस्तै, कास्कीकोट दरबारमा रहेको गुप्तकालिका मन्दिरमा पनि विश्व शान्तीको कामना गर्दै नवदुर्गा महोत्सव हुने भएको छ । गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिले घटस्थापनादेखि नवमिसम्म महोत्सव आयोजना गरेको हो ।

परापूर्वकालदेखि तान्त्रिक तथा बैद्धिक पूजा हुँदै आएको मन्दिरमा यस वर्ष विश्वमा भैइरहेको युद्ध तथा प्राकृतिक प्रकोपबाट मानवीय क्षति हुन नदिन घटस्थापनादेखि दशमीसम्म पुजारी मन्दिरमा नै बसेर गुप्तकालिककाको पूजा गर्ने धार्मिक क्षेत्र विकास समितिका अध्क्षय दिलिपविक्रम शाहीले बताए ।

बडादशैंको फूलपातीमा पोखराको रामघाटबाट लगेको फूलको डोली विधिवत् तरिकाले मन्दिरमा प्रवेश गराएर नवरात्रिकाको तान्त्रिक पूजा गरीनेछ । फूलपातीकै दिन कुँवर जातिको लोपन्मुख सैन्य अभ्यास सरुन खेलसमेत प्रदर्शन गरिनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार