एकान्तकुना यातायात कार्यालयले सुरु गर्‍यो अनलाइन सेवा

यातायात व्यवस्था कार्यालय एकान्तकुनाले बिहीबारदेखि अनलाइन सेवा सुरु गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र बाग्मती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले एकान्तकुना यातायात व्यवस्था कार्यालयमा अनलाइन सेवा सुरु गरेका हुन् ।

योसँगै अब कार्यालयबाट सवारी चालक अनुमतिपत्रको नवीकरण, वर्ग थप र राजस्व भुक्तानी अनलाइन प्रक्रियाबाटै हुने भएको छ । ब्लुबुकको राजस्व नागरिक एपबाटै तिर्न सकिने व्यवस्था भएपनि प्रदेश सरकारले सिस्टम अपडेट नगर्दा लाइन लाग्नैपर्ने अवस्था छ । अब संघकै पुरानो सिस्टमबाट सबै प्रदेशमा अनलाइन भुक्तानी गर्न सकिने बताइएको छ ।

‘सवारी चालक अनुमति पत्रका लागि अब तीन पटक मात्र यातायात व्यवस्था कार्यालयमा जानुपर्ने छ’, प्रदेशका यातायातमन्त्री लम्सालले भने, ‘यसअघि एउटै लाइसेन्सका लागि ९ पटक यातायात व्यवस्था कार्यालयमा धाउनुपर्ने बाध्यता थियो ।’

सवारी चालक अनुमति पत्रका लागि अब लिखित परीक्षा, ट्रायल परीक्षा र बायोमेट्रिक गर्न तीन पटक मात्र यातायात व्यवस्था कार्यालय जानुपर्नेछ । अन्य सबै कामहरु घरबाटै अनलाइनमार्फत गर्न सकिने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले बताए ।

उद्घाटन गर्नुमात्रै प्रगति नभएको भन्दै सिस्टमलाई नियमित अपडेट गर्नुपर्ने उनको भनाइ छ । घरमै बसेर कर तिर्न नसक्दा सरकारप्रतिको विश्वास घट्दै जाने पनि उनले उल्लेख गरे ।

‘कर तिर्नलाई लाइन लाग्ने व्यवस्था हटाउन अनलाइन सेवाको सुरु गरेका छौं । यसलाई नियमित गर्ने जिम्मा कर्मचारीको हो,’ मन्त्री ज्वालाले भने, ‘मन्त्रीले होइन प्राविधिक कर्मचारी जिम्मेवार र सक्रिय भए मात्रै सेवा सञ्चालन हुन्छ ।’

नयाँ सवारी चालक अनुमतिको आवेदन गर्न यसअघि नै अनलाइन सेवा सञ्चालनमा थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार