थलीको एक टहरामा टिपर पल्टिँदा तामाङ दम्पतीको मृत्यु

काठमाडौँको गोकर्ण रिसोर्ट नजिक थलीमा टिपर पल्टिँदा तामाङ दम्पतीको मृत्यु भएको छ । बा ५ ख २५११ नम्बरको बालुवा बोकेको टिपर एक अस्थायी टहरामाथि पल्टिँदा उनीहरुको घटनास्थलमा नै मृत्यु भएको हो ।

शनिबार बिहान सवा ४ बजे साँखु-चाबहिल सडक खण्डको थलीमा टिपर पल्टिँदा टहरामा सुतिरहेका श्रीमान् श्रीमतीको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा नुवाकोट घर भएका साइला तामाङ र उनकी श्रीमति जयन्ती तामाङ रहेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । प्रहरीले टिपर चालक गोविन्द घलानलाई नियन्त्रणमा लिएको छ । थली ओरालोमा आफैं अनियन्त्रित भएर टिपर पल्टिएको चालकले बताएका छन् ।

मृतक श्रीमान् श्रीमतीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ । टहरामा पल्टिएको टिपर निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार