गोकर्णेश्वरमा प्रहरीले गोली चलाउँदा सिन्धुलीका अमर घाइते

लुटेरा समूहलाई नियन्त्रणमा लिन प्रहरीले काठमाडौँमा गोली चलाएको छ । प्रहरीको गोली लागेर एकजना घाइते भएका छन् ।

गोकर्णेश्वर नगरपालिका ९ जगडोलमा प्रहरीले गोली चलाएको हो । लुटेरा समूह आएको खबर पाएपछि प्रहरी त्यहाँ पुगेको थियो ।

तीन वटा मोटरसाइकल चढेर आएका लुटेरा समूहको पिछा गर्दा सो समूहले हतियार झिकेपछि आत्मरक्षाका लागि भन्दै प्रहरी टोलीले गोली चलाएको थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार प्रहरीले लुटेरा समूहमाथि दुई राउण्ड गोली प्रहार गरेको हो । घाइतेको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको र अरु तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले बताए ।

प्रहरीको गोली लागेर सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर २ घर भएका ३६ वर्षीय अमर घलान घाइते छन् । उनको दाहिने खुट्टाको तीघ्रा र घुँडामुनि गोली लागेको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोक घर भएका ३० वर्षीय जितेन लामा र सर्लाही घर भएका ३६ वर्षका सन्त लामा प्रहरीको नियन्त्रणमै छन् । उनीहरूबाट एउटा पेस्तोल, सात राउण्ड गोली र प्रयोग गरिएका मोटरसाइकल बरामद भएको छ । उनीहरूले के लुट्न लागेका थिए भन्ने प्रहरीले खुलाएको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार