मोदीको कालापानी भ्रमणलाई लिएर संसद्‍मा उठ्यो प्रश्‍न, रविले सोधे- सरकारले किन स्वागत नगरेको?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कालापानी क्षेत्रमा गरेको भ्रमणलाई लिएर प्रतिनिधि सभामा प्रश्‍न उठेको छ । प्रतिनिधि सभाको बिहिबार बसेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मोदीले कालापानीमा मोदीले गरेको भ्रमणबारे प्रश्‍न उठाएका हुन् ।

उनले बैठकमा आकस्मिक समय लिएर बोल्दै मोदीको भ्रमणबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए ।

‘भारतीय प्रधानमन्त्री मोदी हाम्रो भूभागमा आए । सरकारले न स्वागत गर्‍यो, न त भ्रमणबारे कुनै जानकारी गरायो । मोदीले भ्रमण गरेको कुञ्जी क्षेत्र नेपाली भूमि हो । सरकारले यत्रो भ्रमणबारे जनता र सदनलाई जानकारी गराउनुपर्दैन ?,’ उनले प्रश्‍न गरे।

विदेशका सरकार प्रमुख आफ्नो भूमिमा आउँदा भव्य स्वागत गर्ने चलन छ । तर मोदीको कालापानी भ्रमणबारे सरकारलाई कुनै जानकारी छैन ।

यसबारे प्रमुख जिल्ला अधिकारीसँग बुझ्दा त्यो भूभागमा नेपालीहरु जान नपाउने जवाफ पाएको उनले सुनाए ।

भारतीय प्रधानमन्त्री मोदी बिहीबार बिहान हेलिकोप्टरमा कालापानी क्षेत्र पुगेका थिए । उनले त्यहाँ आदिकैलाश र पार्वतीकुण्ड दर्शन गरेका थिए ।

मोदीले भ्रमण गरेको क्षेत्र नेपाली भूमि हो । सरकारले २०७७ जेठ पहिलो साता कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रका गुन्जी, नाबी, कुटी लगायत भूभाग समेटेर नयाँ नक्सा जारी गरेको थियो। नेपालले नयाँ नक्सामा समेटेका ती भागलाई भारतले उसको भएको दाबी गर्दै आएको छ ।

तर मोदीले बिहिबार भ्रमण गरेर कालापानीमा भारतले उसको दाबी नछोड्ने सन्देश दिएका छन्। यो सीमा विवादबारे दुई देशबीच राजनीतिक र कुटनीतिक तहमा छलफल हुन सकेको छैन।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार