अर्थतन्त्रका समस्या समाधान गर्न ‘बोल्ड डिसिजन’ आवश्यक : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमाथि परेको दबाबलाई समाधान गर्न बोल्ड डिसिजनको आवश्यकता रहेको बताएका छन् ।

बिहीबार काठमाडौँमा नेपाल उद्योग वाणिज्य महासङ्घले गरेको राष्ट्रिय आर्थिक बहस सुधारका लागि सहकार्य कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले सरकारी कार्यक्रम बनाउने नीति, प्रक्रिया र विधि बजेट निर्माणको प्रक्रिया र विधिमा पनि गम्भीर आत्मसमीक्षा गर्दै पोलिसीमा बोल्ड डिसिजन रहेको बताए ।

‘‘मैले २०८०/०८१ को नीति तथा बजेट कार्यक्रमका सन्दर्भमा प्रतिनिधि सभामा बोल्दै गर्दा अब कुनै सुधारात्मक उपायले नेपालको अर्थतन्त्रमा वा हाम्रो ऐन, कानुनमा रहेका सीमाहरू वा पोलिसीमा रहेका कमीहरू सुधारको तरिकाद्वारा हल गर्न सकिने मैले देख्दिन । त्यसकारण एउटा मेजर अप्रेसन जरुरी छ । हामीले अहिलेसम्म अपनाउँदै आएको नीति कति सफल भयो ? त्यसले हामीलाई कहाँ ल्याइपु¥यायो ? हामीले सरकारी कार्यक्रम बनाउने नीति, प्रक्रिया र विधि बजेट निर्माणको प्रक्रिया र विधिमा पनि गम्भीर आत्मसमीक्षा गर्दै पोलिसीमा बोल्ड डिसिजन आवश्यक छ भनेको थिएँ ।, प्रधानमन्त्री प्रचण्डले भने, ‘‘तर यसै वर्षको नीति, कार्यक्रम र बजेटका सन्दर्भमा परम्परागत ढङ्गले चल्दै आएको कुरामा हामीले सुधार गर्न समयको दबाबका कारण सम्भव छैन । हामीले जे गरेका थियौँ त्यही फलो गर्नुको विकल्प छैन । तर अर्को पटक नीति कार्यक्रम बनाउने सन्दर्भमा पनि, बजेट निर्माणको सन्दर्भमा पनि, अर्थतन्त्रमाथि परेको दबाबलाई समाधान गर्न पनि हामीले केही बोल्ड डिसिजन गर्नुपर्नेछ ।’’

प्रधानमन्त्रीले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यमा सरकारले अपनाउँदै आएका नीतिका सन्दर्भमा मेजर अप्रेसनतिर जाने गरी सोचिरहेको जानकारी दिए । उनले अर्थतन्त्र सुधारका टालटुले तरिकाबाट अहिलेका समस्याको समाधान दिगो रूपमा गर्न सम्भव नरहेको जिकिर गरे । उनले अझै पनि अर्थतन्त्रको मूल समस्या समाधान हुन नसकेको बताए ।

‘‘निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यका सन्दर्भमा पनि हामीले अपनाउँदै आएका नीतिका सन्दर्भमा पनि मेजर अप्रेसनतिर जाने गरी सोच्दैछु । अब फेरि नीति कार्यक्रम बनाउने तयारी त सुरु गर्नुपर्छ हामीले अर्को वर्षको भनेर क्याबिनेटमा थोरै चर्चा भयो । बजेटको तयारी पनि गर्नुपर्छ । अर्थतन्त्रमाथि परेको दबाबको सामना गर्ने नीति, उपाय पनि सोच्नुपर्ने हुन्छ । हामीले चर्चा सुरु गरेका छौँ । हामी टालटुले तरिकाले सुधारका सामान्य तरिकाले अहिलेका समस्याको समाधान दिगो रूपमा गर्न सम्भव छैन । कहीँ न कहीँ हामीले पोलिसी सिफ्ट गर्न जरुरी छ ।,’’ प्रधानमन्त्री प्रचण्डले भने, ‘‘त्यसो गर्न नसके अप्ठ्यारो छ । सुधार गर्न त बल गरियो, वित्तीय नीति र मौद्रिक नीतिकाबीचमा तालमेल मिलाउन निकै मिहेनत पनि भयो । बैङ्कको ब्याज केही घटाउने प्रयास पनि भयो । त्यो सामान्य सुधारात्मक जस्तो । सामाजिक क्षेत्रमा सुधार गर्ने कोसिस भयो । विदेशमा रहेका नेपालीका सन्दर्भका पनि कुरा आए । सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नेकुरा होस्, नागरिकताको समस्या हल गर्ने कुरा होस्, मतदानको अधिकार दिने कुरा होस्, पासपोर्ट लाइसेन्स समस्याका समाधान गर्ने कोसिस गरियो तर अर्थतन्त्रको मूल समस्या समाधान भएको छैन ।’’

उनले अर्थतन्त्रको सुधारका कोसिस गरेपनि अर्थतन्त्र कतै न कतै समस्याग्रस्त रहेको भन्दै केही कुरामा गम्भीर रूपले समीक्षा नगर्ने र बोल्ड डिसिजन लिनेतिर अघि नबढ्ने हो भने झनै अप्ठ्यारोमा जानसक्ने खतरा रहेको बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार