जिल्ला अस्पताल संखुवासभाका स्वास्थ्यकर्मीमाथि आक्रमण प्रयास, ३ जना पक्राउ

जिल्ला अस्पताल संखुवासभा, खाँदबारीमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार तथा आक्रमण प्रयास गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खाँदबारी नगरपालिका–१ का २८ वर्षीय विक्रम विश्वकर्मा र आशिष विश्वकर्मा तथा खाँदबारी–९ का २२ वर्षीय अनिल विश्वकर्मा रहेका छन् । प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका उनीहरुले बुधबार बिहान ९ बजे अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई गाली–गलौज गर्दै हातपातको प्रयास समेत गरेका थिए ।

चिकित्सकलाई आक्रमण गर्न खोजेपछि जिल्ला अस्पतालमा समन्वय अधिकारीको रुपमा खटिएका प्रहरी कर्मचारीले उनीहरुलाई सम्झाउन खोजेका थिए । उल्टै प्रहरी कर्मचारीमाथि पनि आक्रमण गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जना अहिले जिल्ला प्रहरी कार्यालय संखुवासभाको हिरासतमा छन् । उनीहरुविरुद्ध मुलुकी फौजदारी संहिता २०७४ बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार