सन्दीपको मुद्दा आज पनि स्थगित

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको बलत्कार मुद्दाको फाइनल पेसी बिहीबार (आज) पनि स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतमा सन्दीपको मुद्दा लगातार तेस्रो पटक स्थगितमा परेको हो ।

असोजमा दुई पटक पेसी चढेर पनि अदालतबाटै स्थगित भएको सन्दीपको मुद्दामा बिहीबारपनि स्थगितमा परेसँगै अन्योलता लम्बिएको हो ।

यसअघि गत १ असोजमा सन्दीपको मुद्दा पेसीमै नचढी स्थगित भएको थियो । गोलप्रथापछि मुद्दा केशवप्रसाद घिमिरेको इजलासमा तय भएपनि उनी बिदामा भएका कारण मुद्दा स्थगित हुन पुग्यो । त्यसपछि ७ असोजका लागि तय भएको सन्दीपको मुद्दा फेरि पनि पेसीमै नचढी अदालतलेनै स्थगित गरेपछि सन्दीप एसियाली खेलकुद प्रतियोगिता एसियाडका लागि चीन प्रस्थान गरेका थिए ।

सर्वोच्च अदालतले गत १५ फागुनमानै चाँडो फैसला गर्न आदेश दिएको थियो । न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेको मागबमोजिम विदेश जान अनुमति दिँदै बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतलाई शीघ्र सुनुवाइ (फास्ट ट्र्याक) तथा निरन्तर सुनुवाइ (कन्टिनियस हेयरिङ) का प्रक्रिया अवलम्बन गरी छिटो कारबाही किनारा गर्नू भनी आदेश दिएको थियो । उक्त आदेश दिएको ७ महिना पुरा हुँदा पनि जिल्ला अदालतले फाइनल बहस गराउन सकेको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार