रिगलको कैद माफी विरुद्धको रिटको पेसी प्रधानन्यायाधीश सहितको पूर्ण इजलासमा

चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योग ढकालको कैद माफीविरुद्ध दायर भएको रिटमाथि सुनुवाइका लागि बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासमा पेसी तोकिएको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरू आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा पेसी तोकिएको छ । रिटको सुनुवाइको पालो दोस्रो नम्बरमा रहेको छ ।

कैद माफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध चेतनकी श्रीमती भारती मानन्धरले सर्वोच्चमा रिट दर्ता गरेकी थिइन् ।

सर्वोच्चले असोज १८ गते रिटमाथि प्रारम्भिक सुनुवाइ गरेको थियो । सुनुवाइमा सर्वोच्चले कैद मिनाहाको विषयलाई गम्भीर रूपमा लिँदै यस मुद्दाको पेसी स्थगित नहुने ‍जनाएको थियो ।

रिगलसहितको समूहले २०७२ असार २८ गते नेपालगन्जको सुर्खेत रोडस्थित धम्बोझी चोकनजिक नेपालगन्ज उपमहानगरपालिका–८ का २९ वर्षीय चेतन मानन्धरको खुँडा प्रहार गरी हत्या गरेको थियो । मानन्धर हत्याको १ महिनापछि २०७२ भदौ ७ गते रिगलले अदालतमा आत्मसमर्पण गरेका थिए । त्यतिबेला उनी नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको बाँके क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार