नेपालीलाई लिन परराष्ट्रमन्त्री साउद इजरायल जाने, आउन चाहनेको भाडा सरकारले तिर्ने

सरकारले इजरायलमा रहेका नेपालीहरूलाई लिन आज राति ११ बजे नेपाल एयरलाइन्स पठाउने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्री परिषद्को बैठकले राति ११ बजे परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको नेतृत्वमा विमान इजरायल जाने निर्णय गरेको हो ।

बैठकपछि निर्णय सुनाउँदै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेपाल आउन चाहने नेपालीलाई लिनका विमान जाने र आफैँ जहाजमा चढेर आउन चाहे पनि त्यस्ता व्यक्तिको भाडा सरकारले तिर्ने निर्णय भएको बताए ।

मन्त्री गुरुङले भने, ‘‘आज विशेष गरेर इजरायलमा भएको दुःखद् घटनाको सन्दर्भमा सरकारले सुरुदेखि नै पहल गरिरहेको छ । त्यस घटनाका सन्दर्भमा विशेष गरी नेपाल आउन चाहने नेपालीलाई लिनका लागि आज लगभग ११ बजे नेपालबाट नेपाल एयरलाइन्समा परराष्ट्रमन्त्री स्वयं त्यस जहाजमा जाने र नेपालीलाई लिएर आउने । अब आउन पाइन भन्ने भन्दा पनि नेपाली लिएर आउने । त्यहाँबाट आफैँ जहाजमा चढेर आउन चाहे पनि त्यस्ता व्यक्तिको टिकटको भाडा पनि सरकारले नै व्यहोर्ने निर्णय भएको छ ।’’

इजरायलमा भएको आक्रमणमा परी मृत्यु भएकाहरूको शव भने जहाजमा ल्याउन नमिल्ने भएकाले छुट्टै ल्याइने छ ।

मङ्गलबार परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार, उद्धार हुन तथा नेपाल फर्कन चाहने ३२४ जना नेपाली नागरिकहरूले राजदूतावासको अनलाइन रजिष्ट्रेशन प्रणालीमार्फत विवरण उपलब्ध गराएका छन् ।

विवरण दिनेमध्ये २८८ जनाले नेपाल फर्कन र ३६ जनाले स्थानान्तरण हुन चाहेको बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार