दसैँमा विदेशबाट नेपाल आउँदै हुनुहुन्छ–के ल्याउन पाइन्छ, के पाइँदैन ?

दशैं, तिहार लगायतका चाडपर्व आएसँगै विदेशमा रहेका नेपालीहरु घर फर्किने क्रम सुरु भएको छ । घर फर्किने क्रममा कतिपयले टीभी, मोबाइल, ल्यापटप लगायतका सामान पनि ल्याउने गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले विदेशबाट नेपाल आउँदा ल्याउन पाउने सामानको बारेमा आज एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।

श्रम स्वीकृति लिएर लगातार १२ महिना काम गरेको र सामाजिक सुरक्षा कोषमा सुचिकृत भएका नेपाली यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन ल्याउँदा भन्सार तिर्नुपर्ने छैन ।

तर सामाजिक सुरक्षा कोषमा आवद्ध नभएका नेपाली यात्रुले भने ३२ इञ्चसम्मको टेलिभिजन मात्र भन्सारी नतिरी ल्याउन पाउनेछन् ।

भन्सार कार्यालयका अनुसार विदेशबाट नेपाल फर्कने यात्रुले साथमा निश्चित परिमाणमा सुनका गहना पनि ल्याउन पाउनेछन् । कार्यालयका अनुसार घर फर्कँदा महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्राम सुनको गहनामा भन्सार नतिरी ल्याउन छुट दिइएको छ । सो परिमाण बाहेक थप २०० ग्रामसम्म सुनको गहना भन्सार बिन्दुमा महसुल तिरेर ल्याउन पाउने व्यवस्था छ । गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औँठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता नदिने कानुनी व्यवस्था रहेको छ ।

मोबाइलको हकमा भने विदेशबाट फर्कने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नु पर्दैन । श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका यात्रुहरुले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउँने कानूनी व्यवस्था रहेको छ । थप एक थान मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नु पर्दछ ।

यसैगरी ५ हजार अमेरीकी डलर माथिको विदेशी मुद्रा हुने यात्रुले विमानस्थलमा स्वघोषणा गर्नु पर्दछ । रकम घोषणाको भने कुनै महशुल वा शुल्क बुझाउनु नपर्ने व्यवस्था रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार