फलामे पुल बगाएपछि काठे साँघु

लगातारको वर्षासँगै खोलामा पानीको बहाव बढेपछि बिहीबार तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं १ र २ जोड्ने गुबेखोलामाथिको फलामे पुल बगाएपछि स्थानीयवासीले उक्त स्थानमा काठे साँघु निर्माण गरेका छन् ।

पुल अभावसँगै शुक्लागण्डकी नगरपालिका–२ का साथै पोखरा महानगरपालिका–३२ का विभिन्न स्थानबाट शुक्लागण्डकी–१ मा पर्ने सेराबेँसी, पोखरा महानगरपालिकाको मालेपाटनलगायतका स्थानमा आवतजावत गर्न असहज भएपछि स्थानीयवासीको सक्रियतामा काठे साँघु बनाइएको हो ।

सेराबेँसीलगायतका स्थानका बासिन्दा बजारको किनमेलका साथै खेतीपाती गर्न समेत उक्त पुल भएर आवतजावत गर्नुपर्ने बाध्यता रहेको स्थानीयवासी एवं हंशबाहिनी माध्यमिक विद्यालय तनहुँका शिक्षक ठाकुरप्रसाद खनालले जानकारी दिए । प्रत्येक वर्ष वर्षात्को समयमा हुने बाढीका कारण समस्या पर्ने गरेको बताउँदै उनले समस्याको दीर्घकालीन समाधानका लागि पहल गर्नुपर्ने बताए ।

वर्षात्को समयमा यस क्षेत्रमा पर्ने खुदीखोला, तालखोला, गुवेखोला, आपुखोला, फुस्रेखोलामा बाढीसँगै जमिनसमेत कटान हुने गरेको भूक्षय, जलाधार वातावरण संरक्षण समितिका संस्थापक अध्यक्ष कृष्णप्रसाद अधिकारीले जानकारी दिए । यस क्षेत्रको जलाधार संरक्षण गर्दै भूक्षय नियन्त्रणका लागि समितिले निरन्तर पहल गरिरहेको बताउँदै उनले साविकको लेखनाथ नगरपालिकाका वडा नं १२, १३, १५ का साथै देउराली गाविसको वडा नं १ का जनप्रतिनिधिसहित खुदीखोलाको जलाधार संरक्षण एवं भूक्षय नियन्त्रणका लागि नदीजन्य वस्तु ननिकाल्ने सहमति गरिएको जानकारी दिए ।

खुदी खोलामा नदीजन्य वस्तु ननिकाल्नका लागि यसअघि नै सहमति भइसकेका अवस्थामा आगामी दिनमा पनि त्यसको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवाला सबै एकताबद्धरूपमा लाग्नुपर्नेमा उनले जोड दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार