बुधबारपछि मौसममा क्रमिक सुधार हुने

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आउँदो बुधबारपछि मौसममा क्रमिक सुधार हुने जनाएको छ ।

महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले अहिले देशभर जारी हल्का वर्षा निरन्तर जारी रहने भन्दै दुई दिनपछि मौसममा क्रमिक सुधार हुने जानकारी दिइन् ।

उनले भनिन्, “नेपालमा हाल भारतको बिहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव छ । कोशी, मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।”

उनले बुधबारपछि भने निरन्तर जारी वर्षा रोकिँदै फेरि पर्न सक्ने सम्भावना रहेको बताइन् ।

उनले भनिन्, “विगत तीन घण्टाको प्रारम्भिक अध्ययन हेर्दा बुधबारपछि हल्का वर्षा रोकिने देखिन्छ । त्यसपछि मौसममा आंशिक बदली रही पानी रोकिँदै पर्दै, रोकिँदै पर्ने सम्भावना छ ।”

हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार