शिक्षकलाई राजनीतिबाट अलग राख्नैपर्छ : शिक्षामन्त्री राई

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षकहरूलाई राजनीतिबाट अलग राख्नैपर्ने अवस्था रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रस्तावित विद्यालय शिक्षासम्बन्धी विधेयक २०८० का विषयमा सांसद प्रेम सुवालको विरोधको सूचनामाथि प्रष्ट पार्दै मन्त्री राईले शिक्षकहरूलाई राजनीतिबाट अलग राख्नैपर्ने अवस्था रहेको र त्यो विषयलाई प्रस्तावित विधेयकमा समेटिएको बताए ।

‘शिक्षकहरूलाई राजनीतिबाट टाढा राख्नैपर्छ, मान्छेको आस्था आफ्नो ठाउँमा हुनसक्छ । तर त्यो आस्थाका कारण पठनपाठनलाई प्रभावित पार्नुहुदैन । विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न मिल्दैन,’ मन्त्री राईले भने, ‘शिक्षकहरूले कुनै पार्टीको सदस्यता लिएर कसैकालागि भोट माग्ने र कसैको विरोध गर्ने गर्नुहुदैन भनेर ती विषयहरू विधेयकमा समेटिएको छ ।’

मन्त्री राईले सरकारले विधेयकमार्फत् शिक्षकहरूको ट्रेड युनियनको अधिकार भने सुनिश्चित गरेको बताए । उनले मातृभाषाको शिक्षादेखि लिएर गुम्बा, विहार र मदरसा शिक्षासम्मका विषयहरूलाई समेत विधेयकमा समेट्नुपर्ने भएकाले सो विधेयक गम्भीर महत्त्वको रहेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार