एसियाडमा एथ्लेटिक्सका दीपक अधिकारीले बनाए राष्ट्रिय कीर्तिमान

चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुद (एसियाड) मा नेपाली खेलाडीले खराव प्रदर्शन गर्दा आठौं दिन एथ्लेटिक्समा दीपक अधिकारीले पुरुष १० हजार मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

जारी एसियाडमा नेपालको लागि यो पहिलो सफलता हो । हाङझाउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा शनिबार साँझ भएको स्पर्धामा दीपकले निर्धारित दूरी २९ मिनेट ३५।०६ सेकन्डमा पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाए ।

उनले सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएकोमा भएको १७औं एसियाडमा गोपीचन्द्र पार्कीले बनाएको कीर्तिमान तोडेका हुन् । गोपीले ३० मिनेट ३०.९९ सेकेण्डको कीर्तिमान बनाएका थिए ।

दीपकले ९ वर्षपछि उक्त कीर्तिमान तोडेका हुन् । यसअघि दीपकले गत वर्ष पोखरामा भएको नवौं राष्ट्रिय खेलकुदमा १० हजार मिटरमा ३० मिनेट १०।३ सेकेन्ड ह्याण्ड कीर्तिमान बनाएका थिए । तर नवौंमा इलेक्ट्रिक टाइमिङ नभएकाले उक्त कीर्तिमानलाई आधिकारिक मान्यता दिइएको थिएन ।

१९औं एसियाडमा एक्लो नयाँ राष्ट्रिय कीर्तिमान बनाउने दीपक पहिलो नेपाली खेलाडी हुन् । जारी एसियाडको यस स्पर्धामा १६ जना खेलाडी सहभागी थिए । जसमा दीपक सातौं भए ।

जारी एसियाडमा सबै खेलले निराश प्रदर्शन गर्दा दीपकको कीर्तिमानले केही राहत दिएको एथ्लेटिक्सका मुख्य प्रशिक्षक चन्द्रबहादुर गुरुङले बताए । ‘‘एसियाडमा राष्ट्रिय कीर्तिमान बन्नु हाम्रोलागि पदक जितेसरह हो । ‘‘यो एकदमै ठूलो उपलब्धी हो सबैको मिहिनेतले सफल भयौ, एकदमै खुशी छौं’’, उनले भने ।

दीपक अनुशासित र मेहेनती खेलाडी भएकोले भविष्यमा अझै राम्रो गर्ने उनले बताए । यस्तै दीपक अधिकारीले आफ्नो नयाँ कीर्तिमानले खुशी बनाएको प्रतिक्रिया दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार