यसपालि मनसुन ढिला बाहिरिने, अझै ३-४ दिनसम्म पानी पर्ने प्रक्षेपण

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान् महाशाखाले यसपालि नेपालबाट मनसुन बाहिरिन केही समय लाग्ने बताएको छ । मनसुन बहिर्गमनको औसत मिति अक्टुर २ तारिख भए पनि यस वर्ष त्योभन्दा पनि ढिलो बाहिरिने महाशाखाले जनाएको छ ।

आगामी तीन-चार दिनसम्म देशका धेरै स्थानमा बदली भई वर्षाको सम्भावना रहेकाले मनसुन ढिलो गरी बाहिरिने महाशाखाको अनुमान छ । महाशाखाले शुक्रबार साँझ विशेष बुलेटिन जारी गर्दै कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा हुने प्रक्षेपण गर्दै यात्रा गर्दा सतर्कता अपनाउन भनेको छ । २४ घण्टाको अवधिमा ५० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा भनिन्छ ।

पहाडी भू-भागमा पहिरोको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह केही बढ्न सक्ने, दैनिक जन(जीवन तथा सडक, हवाई यातायात समेत केही प्रभावित हुन सक्ने सम्भावना रहेकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले यो समय बाली भित्र्याउने बेला पनि भएको हुँदा आवश्यक सतर्कता अपनाउन भनेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार