माधव समूहको निर्णय: शुक्रबार बोलाइएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने

नेकपा एमालेको माधव नेपाल समूह शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने भएको छ । बिहीबार बुद्धनगरमा बसेको नेपाल समूहको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।

शुक्रबार बोलाइएको केन्द्रीय समिति बैठकमा यथास्थितिमा नजाने सर्वसम्मत निर्णय गरेको नेता योगेश भट्टराईले जानकारी दिए । बैठकले पार्टी एकताका लागि आह्वान समेत गरेको छ । बुधबार बसेको एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले शुक्रबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । उक्त बैठकमा सहभागी हुन एमालेको केन्द्रीय सचिवालयले पत्राचारसमेत गरेको छ ।

सोही विषयमा छलफल गर्न बिहीबार माधव नेपाल समूहको स्थायी कमिटी बैठक बसेको थियो । बैठकले बैठक बोलाउने दशौं महाधिवेशन आयोजक समिति नै अवैध भएकाले उक्त बैठकमा नजाने निर्णय गरेको भट्टराईले बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले १० औं महाधिवेशन आयोजक कमिटी भंग भरी केन्द्रीय समिति ब्यूँताएका थिए । जसमा पूर्व माओवादीका २० जनालाई केन्द्रीय सदस्य बनाइएको छ । त्यसमा नेपाल पक्षको आपत्ति रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार