सञ्चालनमा नआउँदै भासियो कमला नदीको पुल

हुलाकी राजमार्ग अन्तर्गत धनुषा–सिरहा जोड्ने कमला नदीको पुल भासिएको छ । निर्माण सम्पन्न भइ सञ्चालनको तयारीमा रहेको कमला नदीको पुल लगातारको वर्षाले नदीमा बाढी आउँदा भासिएको हो । १० वर्षअघिदेखि निर्माण भइरहेको पुल दुई सातापछि संचालनमा आउने तयारी भइरहेको थियो । पुल नहुँदा स्थानीय उक्त क्षेत्रमा काठको ढुंगाबाट आवतजावत गर्ने गरेका छन् ।

पुलको पिलर एक फिट भासिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए । उनका अनुसार नदीमा बाढी आएको बेला आज बिहान पूर्वबाट पश्चिमको दोस्रो (स्पान –पिलर) भासिएको छ । उनका अनुसार पुलमा १२ वटा स्पान रहेको छ । जसमध्ये एउटा एक फिट भासिएको छ । उनले भने, ‘पुलको स्पान भासिनुको दुइटा कारण हुनसक्छ । पहिलो डिजाइन नै गलत भएको र दोस्रो डिजाइन अनुसार काम नै नभएको ।’ यो विषयमा छानविनका लागि सरकारलाई प्रतिवेदन पनि बुझाइसेको उनको भनाई छ ।

चार सय ७० मिटर लामो पुल निर्माणका लागि २०६८ सालमै पप्पु–लुम्बिनी बिल्डर्सले ठेक्का लिएको थियो । सुरुमा पप्पुले मात्र काम गरे । करिब ३५ प्रतिशत काम सकेका पप्पुले घाटा लाग्ने अवस्था देखेपछि हात झिके । त्यसपछि लुम्बिनी बिल्डर्सले बाँकी काम गरेको छ ।

पुल निर्माणमा ढिलासुस्ती भएको र कमिसनको खेलका कारण गुणस्तरीय सामान प्रयोग नभएको भन्दै स्थानीयले विरोध गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार