जाईकोभ – डीले १२ वर्षमाथिकालाई आपतकालीन प्रयोगको अनुमति माग्यो

भारतको औषधी निर्माता कम्पनी जाइडस केडिलाले कोभिड १९ विरुद्धको डीएनए कोभिड खोपको आपतकालीन प्रयोगको अनुमति मागेको छ । बिहीबार जाइडसले भारतीय औषधी नियमनकारी निकाय समक्ष १२ वर्षमाथिकालाई आपतकालीन प्रयोगका लागि अनुमति मागेको हो ।

जाइडसको खोपले तेस्रो चरणको परीक्षण सम्पन्न गरिसकेको छ । भारतीय सञ्चार संस्था एएनआईका अनुसार जाइकोभ–डी डीएनए कोभिड खोप हो । भाइरसको अनुवाशिंक ‘कोड’ राखेर तयार गरिएको खोपले ब्यक्तिको शरीरमा भाइरस विरुद्ध लड्ने प्रतिरोधी क्षमता विकास गर्नेछ । कोरोनाभाइरस विरुद्धको विश्वको यो पहिलो डीएनए खोप हुनेछ । औषधी नियमनकारी निकायले सातदेखि आठ दिनभित्र आपतकालीन प्रयोगको अनुमति दिने बताइएको छ ।

तेस्रो चरणको परीक्षणमा २८ हजारभन्दा बढी स्वयंसेवी सहभागी भएका थिए । भारतले आष्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोभिशिल्ड, भारत बायोटेकले बिकास गरेको कोभ्याक्सिन र रुसले तयार गरेको स्पुतनिक भी खोप लगाउन अनुमति दिएको छ । पूर्णरुपमा प्रतिरोधी क्षमता विकास गर्न जाइकोभ–डी खोपको तीन मात्रा लगाउनुपर्नेछ । पहिलो मात्रा लगाएको २८ दिनपछि दोस्रो र ५६ औं दिनमा तेस्रो मात्रा लगाइनेछ ।

उक्त खोपलाई छोटो समयका लागि २५ डिग्री सेल्सियस र लामो समय भण्डारणका लागि दुईदेखि आठ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार