मोरक्को भूकम्पमा ज्यान गुमाउनेको संख्या २ हजार नाघ्यो

मोरक्कोमा भूकम्पमा परी मृत्यु हुनेको संख्‍या २ हजार नाघेको छ। शुक्रबार राति स्थानीय समयअनुसार ११:११ बजे गएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म २ हजार १०२ जनाको मृत्यु भएको सिएनएनले उल्लेख गरेको छ। भूकम्पमा परेका १ हजार ४०४ जनाको अवस्था गम्भीर छ।

शुक्रबार राति मराकेसको दक्षिण पश्चिम क्षेत्रमा पर्ने हाई एटलस पहाडी क्षेत्र केन्द्रविन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

धेरै क्षति पनि पहाडी क्षेत्रका गाउँहरुमा भएको छ । खोज तथा उद्धार कार्य जारी छ । ग्रामीण क्षेत्रबाट एकिन विवरण आउन बाँकी रहेकाले हताहतीको संख्या बढ्न सक्ने अनुमान अधिकारीहरुले गरेका छन् ।

शक्तिशाली भूकम्पपछि संयुक्त राष्ट्रसंघले मोरोक्कन सरकारलाई सहयोग गर्न तयार भएको घोषणा गरेको छ ।

मोरक्कोमा २० वर्षपछि यति ठूला भूकम्प आएको हो । यसअघि सन् २००४ मा बन्दरगाह सहर अल होसिमा केन्द्रबिन्दु बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यतिबेला ६३० जनाको मृत्यु भएको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार