महोत्तरीका झा दम्पतीको शव गाडिएको अवस्थामा भेटियो

एक महिनादेखि ओछ्यानसहित बेपत्ता महोत्तरी पिपराका झा दम्पत्तीको शव गाडिएको अवस्थामा बिहिबार फेला परेको छ । पिपरा गाउँपालिका– ५ सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झाको शव पिपरा गाउँपालिका-२ स्थित बाटो छेउमा गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

झा दम्पतीको शव घरभन्दा झण्डै साढे ३ किलोमिटर दूरीमा पाँच फिट तल गाडेको अवस्थामा फेला परेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताए । खाल्डो खनेर निकालिएको शवको दम्पतीको छोरा बुहारीले सनाखत गरेका छन् । गीतादेवीले लगाएको कपडा, पोते र चुराले उनको पहिचान भएको छ भने मुसाफिरले लगाएको टिसर्टले उनको पहिचान भएको प्रदेश प्रहरी प्रमुख सिंहले बताए । गत फागुन १० गते ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीता देवी झालाई घरमै सुतिरहेको अवस्थामा ओछ्यानसहित बेपत्ता पारिएको थियो ।

बेपत्ता भएका दम्पत्ति अपहरण अभियोगमा प्रहरीले यसअघि चार जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा पिपरा गाउँपालिका ५ सहोडवाका ५२ वर्षिय रामबाबु यादव, उनका छोराहरु २६ वर्षीय सुरेन्द्र यादव र २४ वर्षीय राजेन्द्र यादव र भारत मधुवनी जिल्ला मधवापुरका हरेन्द्र ठाकुर रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार