आगामी तीन दिन भारी वर्षाको सम्भावना, उच्च सावधानी अपनाउन आग्रह

आगामी तीन दिन नेपालको धेरैजसो स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको तराई भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ । हाल प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको विभागको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ ।

‘तीन दिनको समग्र अवस्थालाई भन्दा कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक अरु स्थानहरुमा भारी वर्षाको सम्भावना छ,’ मौसमविद सजिना शाक्यले भनिन्, ‘थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।’

आगामी २४ घण्टाका लागि चेतावनी दिँदै भनिएको छ, ‘प्रदेश १, प्रदेश २ , बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा तथा एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरुको पहाडी भू-भागमा भु-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवनरयातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।’

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली हुनुका साथै प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

शुक्रबार दिउँसोसम्म प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको र शुक्रबार राति भने कर्णाली प्रदेशमा पनि यस्तो सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार