भागरथी हत्या प्रकरण : मृतकको डिएनए अभियुक्त दिनेशसँग म्याच भयो

बैतडीकी १७ वर्षीया भागरथी भट्ट बलात्कार र हत्या प्रकरणका आरोपित दिनेश भट्टको डीएनए मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनएसँग मिलेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मुकेश सिंहका अनुसार केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला, सामाखुशीमा गरिएको परीक्षणबाट डीएनए मिलेको पाइएको हो । बिहीबार आएको डिएनए रिपोर्ट अभियुक्तको डिएनएसँग म्याच खाएसँगै अनुसन्धान थप बलियो बनेको प्रवक्ता सिंहले बताए ।

बीचमा अभियुक्तका आफन्तले घटनालाई अन्तै मोड्न उनले बयान फेरेको बताए पनि यो प्रमाणले पनि उनैलाई दोषी देखाएको प्रहरीको भनाइ छ । भजाइनल स्वाबको डिएनए परीक्षणको यो रिपोर्ट अनुसन्धानका लागि निकै महत्वपूर्ण मानिएको थियो ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७, चुडेपानीकी भागरथी २२ माघमा घरबाट विद्यालय गएकी थिइन् । तर, फर्किएर आउन पाइनन् । २३ माघमा उनको शव खोचलेक क्षेत्रमा रहेको लवलेक जंगलमा भेटिएको थियो । प्रहरीले घटनामा भट्टको संलग्नता देखिएको भन्दै ४ फागुनमा दिनेशलाई पक्राउ गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार