तिब्बती मार्ग हुँदै हिल्सा पुग्यो खाद्यान्न, सिमकोट ढुवानी हुँदै

काठमाडौँबाट रसुवाको केरुङ नाका हुँदै तिब्बती मार्ग भएर आएको खाद्यान्न हिल्सा पुगेको छ । खाद्यान्न लोड भएका गाडीहरूले केरुङबाट तिब्बती मार्ग हुँदै चीनको ताक्लाकोटबाट हिल्सा पुग्न तीन दिन लागेको थियो ।

हुम्लाका लागि खाद्यान्न बोकेका चालीस वटा गाडी मङ्गलबार बेलुका हिल्सा पुगेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाका प्रमुख कृष्ण प्रसाद अधिकारीले बताए । तीन दिन अगाडी खाद्यान्न लोड भएका ४० गाडी काठमाडौँबाट छुटेका थिए । जिल्लामा खाद्यान्नको समस्या भएको बेला लिमिटेडले चार हजार क्विन्टल खाद्यान्न पैदल मार्गबाट पठाएको हो ।

उक्त खाद्यान्न अब सिमकोट ढुवानी हुनेछ । उक्त खाद्यान्न मध्य एक हजार क्विन्टल नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङ बिक्री केन्द्रका लागि र तीन हजार क्विन्टल सिमकोट शाखाको लागि ढुवानी हुनेछ । सो खाद्यान्न अघिल्लो आर्थिक वर्षको खाद्यान्न हो । खाद्यान्न सिमकोट पुगे लगत्तै सर्वसाधारणका लागि बिक्री वितरण गरिने छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार