एमाले नेताहरूसहित ६८ यात्रु अर्कै जहाजमा जनकपुर पठाइयो, अध्यक्ष ओली विराटनगर हुँदै सर्रे अम्बासतर्फ

जनकपुरमा अवतरण हुन नसकी काठमाडौं फर्किएको बुद्द एयरका यात्रुहरूलाई अर्को जहाजमा पठाइएको छ ।

नेकपा (एमाले) सहित ६८ जना यात्रु सवार जहाज बुधबार बिहान प्राविधिक समस्या देखिएपछि जनकपुरबाट काठमाडौँ नै फिर्ता भएको थियो । फिर्ता आएका यात्रुहरूलाई अर्कै जहाजको व्यवस्था गरी फेरि जनकपुर पठाइएको हो ।

सिराहा सचिवालय बैठकका लागि एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, अमृत बोहोरासहितका नेताहरू सोही जहाजमार्फत् जनकपुर जाँदै थिए ।

जहाज २३ मिनेट उडेपछि प्राविधिक समस्या भन्दै फेरि काठमाडौं फर्किएको उपाध्यक्ष नेम्वाङले बताए । प्राविधिक समस्याका कारण काठमाडौं फर्किएको जहाजको चेकजाँच भइरहेको छ ।

यस्तै अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष सुरेन्द्र पाण्डेसहितका नेताहरू चढेको जहाज भने विराटनगरमा अवतरण भएको कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिएका छन् ।

ओलीसहितका नेताहरू विराटनगरबाट केन्द्रीय सचिवालयको बैठक हुने सिरहाको सर्रे अम्बासतर्फ लागिसकेको अधिकारीले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार