एमाले नेताहरू चढेको जहाज जनकपुर नओर्ली काठमाडौं फिर्ता

नेकपा (एमाले)का नेताहरू चढेको बुद्ध एयरको जहाज जनकपुर अवतरण हुन नसकी काठमाडौं फर्किएको छ ।

सिराहा सचिवालय बैठकका लागि एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, अमृत बोहोरासहितका नेता बुद्ध एयरमार्फत् जनकपुर जाँदै थिए ।

तर जनकपुर विमानस्थलमाथिको आकाशमा पुगेपछि परिचारिकाले केही प्राविधिक समस्याका कारण जनकपुर ओर्लन नसक्ने जानकारी गराएकी थिइन् । त्यसपछि जहाज काठमाडौं फिर्ता भएको एमाले उपाध्यक्ष नेम्वाङले बताए ।

बुधबार सिरहामा एमालेको सचिवालय समितिको बैठक बस्दैछ । बैठकमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओली विराटनगरबाट सिरहा जानेछन् भने अरु नेताहरु काठमाडौंबाट जानेछन् । बुद्ध एयरको एउटा जहाज फिर्ता भए पनि एमाले नेताहरुलाई अर्को जहाजमा त्यसतर्फ पठाउने तयारी छ ।

एमालेको सचिवालय बैठक सिराहाको सर्रे अम्बासमा बस्दै छ। बिहान ११ः ३० बजेदेखि बैठक सुरू हुने नेताहरूले बताएका छन्।

एमालेले चौथो महाधिवेशन सुरु भएकै दिन अर्थात् भदौ ९ गते नै बैठकको तयारी गरेको थियो। चुरे नजिकैको त्यस क्षेत्र डुबानको चपेटमा परेकाले बैठक स्थगित गरेको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार