इथियोपियाको अम्हारामा भएको झडपमा कम्तीमा १८३ जनाको मृत्यु

इथियोपियाको अम्हारामा भएको झडपमा जुलाइ महिनायता कम्तीमा १८३ जनाको मृत्यु भएको संयुक्त राष्ट्र संघले जनाएको छ ।

छिमेकी क्षेत्र टिग्रेमा भएको विनाशकारी युद्धको अन्त्यपछि यस वर्ष उत्तरी क्षेत्रमा तनाव बढेको थियो जसमा अम्हाराका लडाकुहरू पनि सामेल भएका थिए ।

‘इथियोपियाका केही क्षेत्रमा मानव अधिकारको अवस्था बिग्रिँदै गएकोमा हामी निकै चिन्तित छौं,’ संयुक्त राष्ट्र संघीय मानवअधिकार कार्यालयकी प्रवक्ता मार्टा हर्टाडोले जेनेभामा मंगलबार पत्रकारहरूको कुराकानीमा भनिन्, ‘अम्हारा क्षेत्रमा इथियोपियाली सेना र क्षेत्रीय फानो मिलिसियाबीच झडप भड्किएपछि र अगस्ट ४ मा आपतकालीन अवस्थाको घोषणापछि स्थिति निकै खराब भएको थियो ।’

संयुक्त राष्ट्र संघको मानव अधिकार कार्यालयले संकलन गरेको जानकारी अनुसार जुलाइयता भएका झडपमा कम्तीमा १८३ जनाको मृत्यु भएको हो ।

गत अप्रिलमा संघीय सरकारले देशभरका क्षेत्रीय शक्तिलाई ध्वस्त पार्ने घोषणा गरेको थियो। यस घोषणाले उनीहरूको क्षेत्रलाई कमजोर पार्ने बताउँदै अम्हारा राष्ट्रवादीहरूले विरोध प्रदर्शन सुरू गरेका थिए ।

जुलाइको सुरूमा राष्ट्रिय सेना र फानो भनिने स्थानीय लडाकुहरूबीच झडप भएको थियो । जसका कारण अगस्ट ४ मा अदिस अबाबाका अधिकारीहरूले छ महिनाका लागि आपतकालीन अवस्था घोषणा गरेका थिए ।

हर्टाडोले भनिन्, ‘यो स्थितिले अधिकारीहरूलाई अदालतको आदेशबिनै संदिग्धहरूलाई पक्राउ गर्न, कर्फ्यु लागू गर्न र सार्वजनिक जमघटमा प्रतिबन्ध लगाउन अधिकार दिएको छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार