चीन भ्रमणमा नयाँ व्यापारिक नाका खोल्ने विषय कार्यसूचीमा छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न चीन भ्रमणमा नयाँ व्यापारिक नाका खोल्ने विषय उठाउने बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसद ऐनबहादुर शाहीले सोधेको प्रश्नको जवाफ दिँदै उनले नयाँ व्यापारिक नाका भ्रमणको एजेन्डामा रहेको बताएका हुन् ।

उनले दुई देशबीचका सीमा नाकाहरुको सञ्चालनलाई प्रभावकारी बनाउने विषयमा छलफल हुने पनि बताए । दुई देशबीच यसअघिका सम्झौता र समझदारीलाई कार्यान्वयनमा जोड दिने पनि उनले बताए।

त्यस्तै सडक, ऊर्जा, कृषि, विज्ञान तथा प्रविधि, व्यापार र स्थास्थ्यको क्षेत्रमा रुपान्तरणकारी परियोजनाहरुमा चिनको सहयोगको बिस्तार गर्ने विषय पनि भ्रमणको प्राथमिकतामा रहेको उल्लेख गरे ।

‘निकट भविष्यमा हुने मित्रराष्ट्र चीनको भ्रमण दुई देश बीचको ऐतिहासिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउँदै नेपालको सामाजिक, आर्थिक विकासको लागि चीन–नेपाल सम्बन्धलाई नयाँ गति दिने दिशामा केन्द्रित रहने छ । भ्रमणका क्रममा यस अघि भएका सम्झौता र समझदारीहरुको कार्यान्वयनमा जोड दिइने छ’, उनले भने, ‘नेपाल र चीन बीचको आर्थिक तथा व्यापार सम्बन्धलाई थप सघन बनाउने, दुई देश बीचका सीमा नाकाहरुको सञ्चालनलाई प्रभावकारी बनाउने र नयाँ नाकाहरु खोल्ने विषयहरु पनि भ्रमणका क्रममा कार्यसूचीमा छन्। सडक, ऊर्जा, कृषि, विज्ञान तथा प्रविधि, व्यापार तथा विकास सहायता क्षेत्रमा कनेक्टिभिटी, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रका रुपान्तरणकारी परियोजनामा चीनको सहयोग बिस्तारको विषय समेत प्राथमिकतामा रहने छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार