प्रतिनिधिसभाका १० वटै संसदीय समितिका सभापति निर्विरोध

कांग्रेस तीन, एमाले दुई, माओवादी, राप्रपा, जसपा, एकीकृत समाजवादी र जनमत १–१ समितिमा निर्वाचित

प्रतिनिधिसभाअन्तर्गतका १० वटै समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतका १० समितिको नेतृत्वका लागि आइतबार ९ वटामा एकल र एउटामा दुई जनाको उम्मेदवारी परेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सोमबार उम्मेदवारी फिर्ता लिएपछि सबै सभापतिहरू निर्विरोध निर्वाचित भएका हुन् ।

सत्ता र प्रतिपक्षबीचको भागबन्डाअनुसार कांग्रेसले तीन, एमालेले दुई, माओवादी केन्द्र, राप्रपा, जसपा, एकीकृत समाजवादी, जनमतले १–१ समिति सभापतिमा उम्मेदवारी दर्ता गराएका थिए ।

अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जसपाका राजकिशोर यादव निर्वाचित भएका छन् ।

कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा माओवादी केन्द्रका विमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसका आरजु राणा देउवा, महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा निर्वाचित भएका छन् ।

त्यसैगरी, पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा एकीकृत समाजवादीका भानुभक्त जोशी र सार्वजनिक लेखा समितिको सभापतिमा एमालेका ऋषिकेश पोखरेल निर्वाचित भएका छन् ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमतका अब्दुल खान निर्वाचित भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार