कांग्रेसले भदौ २४ गतेदेखि बीपी साहित्य महोत्सव आयोजना गर्ने

नेपाली कांग्रेसले कांग्रेसको संस्थापक नेता बीपी कोइरालाको जन्मजयन्तीको अवसर पारेर बिपी साहित्य महोत्सव, २०८० गर्ने भएको छ । कांग्रेसले बीपी कोइरालाको भदौ २४ गते परेको ११० औँ जन्मजयन्तीको अवसर पारेर बिपी साहित्य महोत्सव, २०८० गर्न लागेको हो ।

कांग्रेस केन्द्रीय कार्यालयको आयोजना र नेपाली लेखक सङ्घको संयोजनमा भदौ २४, २५ र २६ गते कांग्रेस केन्द्रीय कार्यालय सानेपामा हुन गइरहेको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

महोत्सवमा सम्भाषण हुने र महोत्सवका सत्रहरु अन्तर्गत मनोविश्लेषणात्मक साहित्य र व्यक्तिसत्ता, साहित्यमा पर्यावरण, समय र सबाल्टर्न, नेपालको मातृभाषा साहित्य, बीपीका आख्यानमा नारी, बीपीका आख्यानमा मधेश, बीपीका दृष्टिमा बीपी, बीपीले नपाएका १५ वर्ष शीर्षकमा चल्ने भएका छन् ।

यस्तै, अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बीपी, समावेशिता, सामाजिक रुपान्तरण र बीपी, युवा पुस्तामा बीपी पठन र परिवारले बुझेका बीपी शीर्षकमा समेत सत्रहरु चल्ने प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी दिए । महोत्सवमा कविता साँझ, गजल साँझ, साङ्गीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी र ऐतिहासिक फोटो प्रदर्शनीसमेत हुने उनले बताए ।

कांग्रेसले महोत्सवमा उपस्थितिका लागि प्राज्ञिक व्यक्तित्वहरु, बुद्धिजीवी, अध्येता तथा राजनीतिका अतिरिक्त लेखन साहित्यमा रुचि राख्ने सबैलाई अनुरोध गरेको छ । कार्यक्रमको विस्तृत विवरण, निर्धारित विषय, वक्ता एवम् सहजकर्ता र महोत्सवको कार्यतालिका छिट्टै नै सार्वजनिक गर्ने प्रचार विभाग प्रमुख विश्वकर्माले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार