चालू पुँजी कर्जाको सीमा बढ्यो, उत्पादनमूलक क्षेत्रमा ३ करोडसम्म मापदण्ड नलाग्ने

अब उत्पादनमूलक क्षेत्रमा जाने ३ करोडसम्मको चालु पुँजी कर्जामा मापदण्ड नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन तथा परिमार्जन गर्दै उत्पादनमूलक उद्योगका लागि यस्तो व्यवस्था गरेको हो ।

उद्योगी, व्यवसायी, बैंकर र अर्थ मन्त्रालयको आग्रहपछि राष्ट्र बैंकले विद्यमान व्यवस्था संशोधन गर्दै चालू पुँजी कर्जा परिमार्जन गरेको हो ।

यसअघि यस्तो सीमा १ करोड रुपैयाँसम्म थियो । ‘समग्र बैंकिङ प्रणालीबाट कुल १ करोडसम्म (उत्पादनमूलक उद्योगका हकमा कूल ३ करोडसम्म) चालू पुँजी कर्जा उपयोग गर्ने ऋणीका लागि यो मार्गदर्शन लागू हुने छैन,’ राष्ट्र बैंकले जारी गरेको परिपत्रमा छ ।

यस्ता ऋणीलाई प्रवाह हुने चालू पुँजी कर्जाको सीमा बैंक तथा वित्तीय संस्थाले आफ्नो चालू पुँजी कर्जासम्बन्धी नीतिको अधीनमा रही निर्धारण गर्न सक्ने राष्ट बैंकले उल्लेख गरेको छ ।

तर, चालू पुँजी प्रयोजनका लागि प्रदान हुने कर्जाको प्रकार उक्त मार्गदर्शनबमोजिम नै हुनुपर्ने छ । त्यसैगरी २ करोड रुपैयाँसम्मको उत्पादनमूलक उद्योगका हकमा सीमा बढाएर ४ करोड रुपैयाँ पुर्‍याइएको छ ।

त्यस्तै, अब बैंकहरूले उद्योग, व्यवसाय वा कम्पनीहरूको सञ्चालन चक्र लगायतका आधारमा अधिकतम वार्षिक कारोबारको ५० प्रतिशतसम्म चालु पुँजी कर्जा दिन सक्ने भएका छन् । यसअघि यो सीमा ४० प्रतिशत मात्रै थियो ।

अब चालु पुँजी कर्जा लिइरहेका ऋणीहरूले वर्षमा एक पटक खाता शून्य बनाउनै पर्ने व्यवस्थामा समेत परिर्माजन गरिएको छ । अब यस्तो खातामा वर्षमा एक पटक कम्तीमा १० प्रतिशत रकम कायम रहन सक्ने व्यवस्था गरिएको छ ।

वर्षमा एक पटक खाता शून्य नै राख्नु पर्ने व्यवस्थामा समेत उद्योगी व्यवसायीहरूले परिमार्जन माग गरिरहेका थिए ।

आकस्मिक किसिमको चालु पुँजी कर्जा मौषमी व्यवसायलाई समेत (जस्तै रसायनिक मल खरिद, चाडपर्वसँग सम्बन्धित व्यापार आदि) औचित्यको आधारमा प्रवाह गर्न सकिने व्यवस्था गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार