अस्थीरता चाहने केही तत्वले देशलाई जातीय र धार्मिक द्वन्द्वमा धकेल्ने प्रयास गरे : नेता कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशलाई जातीय र धार्मिक द्वन्द्वमा धकेल्ने प्रयास भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

सुनसरीको धरानमा आयोजित एक कार्यक्रममा बोल्दै नेता कोइरालाले अस्थीरता चाहने केही तत्वहरुले देशलाई जातीय र धार्मिक द्वन्द्वमा धकेल्ने प्रयास गरिरहेको बताएका हुन् ।

उनले देशमा साम्प्रदायिक द्वन्द्वको बिजारोपण गरेर सामजिक र धार्मिक सद्भाव बिथोल्न खोजिएको भन्दै आफूहरुलाई त्यो कदापी स्वीकार्य नभएको बताए । उनले संविधानमा हरेक भाषाभाषी र जातजातिलाई आफ्नो धर्म मान्न पाउने अधिकार रहेको भन्दै धर्मका नाममा गरिने राजनीति बन्द हुनुपर्ने जिकिर गरे ।

उनले कुनै उत्तेजना र बहकाउमा नलाग्नसमेत धरानवासीलाई आह्वान गरे । जातीय र धार्मिक सद्भाव कायम गर्दै संयमित हुन आग्रह गर्दै नेता कोइरालाले साम्प्रदायिक हिंसा फैलिए त्यसको ज्वाला देशैभर फैलिने चेतावनी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार