संसदीय समितिको सभापतिमा १० जनाको उम्मेदवारी

कसको उम्मेदवारी कहाँ ?

प्रतिनिधि सभाका १० विषयगत समितिका सभापतिका लागि आइतबार उम्मेदवारी दर्ता भएको छ ।

दलीय भागबन्डाका आधार विभिन्न दलका सांसदहरूले उम्मेदवारी दर्ता गरेका हुन् ।

प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का तर्फबाट प्रतिनिधिसभा मातहातका दुई वटा समितिको सभापतिका लागि उम्मेदवारी परेको छ । सांसद ऋषिकेश पोखरेलले सार्वजनिक लेखा समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । एमालेकै किरण कुमार साहले महिला तथा सामाजिक सामिला समितिमा उम्मेदवारी दिएका छन् ।

कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा नेकपा (माओवादी केन्द्र)की विमला सुवेदीको उम्मेदवारी दर्ता भएको छ ।

नेपाली कांग्रेसका सांसद आरजु राणा र रामहरि खतिवडाले क्रमशस् कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र तथा सुशासन समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेसकै सन्तोष चालिसेले अर्थ समितिको सभापतिमा र जीवन परियारले संयुक्त संसदीय सुनुवाइ समितिको सभापतिमा उम्मेदवारी दिएका छन् ।

यस्तै पूर्वाधार विकास समितिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपककुमार सिंहले उम्मेदवारी दिएका छन् । माओवादी केन्द्र र राप्रपाबीचको सहमतिअनुसार सिंह उम्मेदवार बनेका हुन् । माओवादीका तर्फबाट सभापतिका उम्मेदवार माधव सापकोटा सिंहको प्रस्तावक बनेका छन् ।

साथै जसपाका सांसद राजकिशोर यादवले अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा, एकीकृत समाजवादीका भानुभक्त जोशीले शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा र जनमत पार्टीका अब्दुल खानले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिकै सभापतिमा काठमाडौं–७ बाट निर्वाचित रास्वपा सांसद गणेश पराजुलीले पनि उम्मेदवारी दर्ता गरेका छन् । उनको प्रस्तावकमा पार्टी उपसभापति डिपी अर्याल र समर्थकमा असीम शाह रहेका छन् ।

प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले १० वटै विषयगत समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ बजेका लागि निर्धारण गरेको घोषणा अनुरुप निर्वाचन प्रक्रिया अघि बढेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार