ललिता निवास प्रकरणमा २९० जनाविरुद्ध मुद्दा दर्ता

१७ जना पक्राउ, २७३ फरार सूचीमा

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका २ सय ९० जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले आइतबार २९० जनालाई प्रतिवादी बनाउँदै र्कीते गरेको अभियोगमा मुद्दा दर्ता गरेको हो ।

काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार प्रतिवादी बनाइएकामध्ये १७ जनालाई मात्रै पक्राउ गरिएको र बाँकी २७३ जनालाई फरार सूचीमा उल्लेख गरिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कीर्ते र संगठित अपराधमा मुद्दा चलाउन सिफारिस गर्दै रायसहितको प्रतिवेदन दिएको थियो । तर सरकारी वकिलले संगठित अपराधमा मुद्दा नचलाउने निर्णय लिएको छ ।

दाहालका अनुसार पक्राउका रूपमा अदालतमा पेश गरिएका १७ जनाको सोमबारदेखि थुनछेक प्रयोजनका लागि बयान थालिनेछ। बाँकी २७३ जनाको भने म्याद तामेलको प्रक्रिया सुरु गरिने उनले जानकारी दिए ।

सरकारी वकिल कार्यालयले बहालवाला सचिव कृष्णबहादुर राउत, सहसचिव सुशील वैद्य, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसमेत चार पूर्वमन्त्रीलाई प्रतिवादी बनाएको छ। मन्त्रीहरूमा चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ र सञ्जय शाह छन् ।

सरकारी वकिलले ६ पूर्वसचिवसहितलाई पनि प्रतिवादी बनाएको छ ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ माघमा १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेषमा मुद्दा विचाराधीन रहेकै अवस्थामा सिआइवीले गरेको अनुसन्धानका आधारमा काठमाडौँ जिल्ला अदालतमा पुनः मुद्दा दर्ता गरिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार