पहिराेले भेरी करिडोरको करबगाड खदाङ्ग सडक अवरुद्ध

भेरी करिडोर अन्तर्गत डोल्पाको करबगाड खदाङ्ग सडक खण्ड अवरुद्ध भएको छ । शुक्रबारदेखि परेको अविरल वर्षाले डोल्पा सडक खण्डमा पर्ने अनारदुला भन्ने ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

त्रिपुरासुन्दरी नगरपालिका-५ मा पर्ने करबगाड र खदाङ्गबीचको अनारदुलामा सडक माथिबाट खसेको पहिराले सडक अवरुद्ध हुँदा आवागमनमा समस्या भएको छ । आइतबार बिहानदेखि पानी पर्न बन्द भए पनि सुख्खा पहिरो भने खसिरहेको छ ।

पहिरोका कारण डोल्पादेखि नेपालगन्ज जाने र नेपालगन्जबाट डोल्पा आउने सवारी साधनहरुले वल्लोपल्लो गरेर यात्रुहरुलाई मेल गर्ने गरेको चालक मनराज बोहराले बताए ।

करिब १० मिटर भन्दा माथिबाट खसेको पहिरोले सडकलाई ठुलो क्षती गरेको त्रिपुरासुन्दरी नगरपालिका-२ का वडाअध्यक्ष टङ्क थापाले बताए । अवरुद्ध सडक खुलाउन भेरिकरिडोर अन्तर्गत सडक डिभिजन कार्यालय जाजरकोटलाई अनुरोध गरिएको पनि वडाअध्यक्ष थापाले जानकारी दिए ।

पहिरोले सडकमा गाडिएको राष्ट्रिय ग्रिड अन्तर्गतको बिजुली बत्तीका पोलहरु समेतमा क्षति पुर्याएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार