इन्जिनियरिङ अध्ययन संस्थानको शुल्कवृद्धिविरुद्ध मन्त्री क्वार्टर अगाडि अनेरास्ववियुको प्रदर्शन

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले आइतबार बिहान मन्त्री क्वार्टर पुल्चोक परिसरमा प्रदर्शन गरेको छ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले गरेको शुल्क वृद्धि फिर्ता गर्न माग गर्दै अनेरास्ववियुका विद्यार्थीले प्रदर्शन गरेका हुन् ।

शुल्क एकैपटक बढाएर ७ लाख पुर्‍याएपछि त्यसको विरोधमा अनेरास्ववियुले मन्त्री क्वाटर बाहिर मन्त्रीहरुको गाडी रोकेर प्रदर्शन गरेको हो । उनीहरुले ‘विद्यार्थी सबै खाडीमा, मन्त्रीहरु गाडीमा’ भन्दै नाराबाजी समेत गरेका थिए । कार्यकक्ष सिंहदरबार हिँड्न लागेका मन्त्रीहरूलाई विद्यार्थीको प्रदर्शनले अवरोध पुगेको थियो ।

यसअघि इन्जिनियरिङ स्नातक तहको नियमिततर्फ ३५ हजार शुल्क कायम गरिएको थियो भने, हाल उक्त शुल्क बढाएर ८२ हजार ७२० रूपैयाँ कायम गरिएको छ । त्यस्तै, पूर्ण शुल्कतर्फ ३ लाख ३० हजारलाई बढाएर ७ लाख ७५ हजार पुर्‍याइएको छ ।

शुक्रबार स्वतन्त्र विद्यार्थी युनियन पुल्चोक क्याम्पसको अगुवाइमा ७ विद्यार्थी संगठनले डिन कार्यालय पुल्चोकदेखि माइतीघर मण्डलसम्म प्रदर्शन गरेका थिए । डिन कार्यालयले अवैधानिक र अवैज्ञानिक रुपमा गरेको शुल्क वृृद्धि फिर्ता लिनुपर्ने एकसूत्रीय माग विद्यार्थी संगठनहरूले राखेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार