मदुराइ रेलमा आगलागी हुँदा १० जना तीर्थयात्रीको मृत्यु

शनिबार बिहान मदुराइ रेलवे स्टेसन नजिकै रोकेर राखिएको रेलको डिब्बा भित्र आगलागी हुँदा उत्तर प्रदेशबाट यात्रा गरिरहेका १० जना तीर्थयात्रीको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् । 

पुनालुर-मदुराई एक्सप्रेसले लखनउबाट ल्याएको उक्त डिब्बामा आज बिहान आगलागी भएको पुष्टि गर्दै दक्षिणी रेलवेले प्रत्येक मृतकका आफन्तलाई रु १० लाख अनुदान दिने घोषणा गरेको छ । अवैध रूपमा तस्करी गरिएको ग्यास सिलिन्डर रेलको डिब्बामा राखिएको र सोही विस्फोट हुँदा उक्त हताहती भएको रेलवेले एक विज्ञप्ति निकालेर बताएको छ ।

कफी बनाउन ग्यासको चुलो बाल्ने प्रयास गर्दा सिलिन्डर विस्फोट भएको उल्लेख गर्दै विज्ञप्तिमा ५५ जनालाई उद्धार गरिएको र नौ शव बरामद गरिएका जनाइएको छ । दुर्घटनास्थलमा उद्धार जारी छ । दक्षिणी रेलवेका मुख्य जनसम्पर्क अधिकारी बी गुगनेसनले रेलको डिब्बाभित्र यात्रीले गैरकानुनीरूपमा ग्यास सिलिन्डर राखेर भान्सासमेत सञ्चालन गर्दा दुर्घटना भएको बताएका छन् ।

जुनसुकै यात्रीले रेलका डिब्बा आवश्यक दस्तुर तिरेर यात्रा गर्नसक्ने तर कुनै पनि प्रज्वलनशील पदार्थ ल्याउन नपाइने कानूनी व्यवस्था रहेको उनले स्पष्ट गरेका छन् । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार