भोजपुरमा विदेश मोह त्यागेर कृषिमा लाग्ने युवाको संख्या बढ्दै, यसो भन्छन् धनकुमार

भोजपुरमा विदेशप्रतिको मोह त्यागेर कृषिमा लाग्ने युवाको सङ्ख्या बढ्दै गएको छ । उनीहरुले स्वदेशमा बसेर कृषि व्यवसायबाट मनग्य आम्दानीसमेत गरिरहेका छन्। कृषिमा लाग्ने युवालाई राज्यले सञ्चालन गरेका विभिन्न प्रोत्साहनमूलक कार्यक्रमले पनि सहयोग पुगेको छ ।

आफ्नै ठाउँमा केही गर्ने अभिलाषाले पौवादुङमा गाउँपालिकाका धनकुमार राईले लामो समयदेखि कृषि व्यवसाय गरिरहेका छन् । उनी झन्डै १८ वर्षदेखि उक्त कर्ममा लागिरहेका छन्। राईले तीन वर्षअघि सदरमुकाम नजिकै टक्सारमा साढे ६ रोपनी जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेती गरिरहेका छन् । तरकारी व्यवसायबाट मनग्य आम्दानी गर्न सकिने देखेपछि यसलाई थप विस्तार गरेको उनको भनाइ छ ।

‘विदेश जानुभन्दा स्वदेशमै व्यावसायिक भएर काम गर्न सकियो भने आम्दानी गर्न सकिन्छ’, राईले भने, ‘वार्षिक रुपमा रु नौ लाखसम्मको तरकारी बिक्री गर्छु । त्यसमा कामदार, बीउबिजनलगायत खर्च कटाउँदा वार्षिक रु तीनदेखि रु चार लाखसम्म आम्दानी हुन्छ ।’

कृषक राईले आफ्नो तरकारी फर्ममा गोलभेँडा, कुरिलो, सिमी, बन्दाकोभी, काउली तथा  विभिन्न बेमौसमी तरकारबाली लगाएको बताए । कृषि कर्ममा मेहनत गरेर लाग्न सके जीवन गुजारा गर्न समस्या नरहेको कृषक राईले बताए। अहिले महिनामा पाँच/छ जनालाई रोजगारीसमेत दिएको उनको भनाइ छ ।

‘आफ्नै ठाउँमा कृषि कर्म गर्न पाउँदा खुसी लाग्छ’, उनले भने, ‘विदेश जाने मोह त्यागेर लामो समयबाट यही पेसामा लागेको छु। यहाँबाट आएको आम्दानीबाट सन्तुष्ट  छु। केही मानिसहरुलाई रोजगारी पनि दिएको छु ।’

उत्पादित कृषि उपजको बजारीकरणमा राज्यले सहयोग गरे अझ बढी आम्दानी लिन सकिने कृषक राईको भनाइ छ । बजारीकरणको समस्याका कारण कुनै समयमा तरकारी बारीमा कुहिएर जाने अवस्था आउने गरेको उनले बताए । ‘कृषि व्यवसायको मुख्य समस्या बजारीकरणको छ’, उनले भने, ‘बजारको राम्रो व्यवस्था नहुँदा कुनै समयमा बारीमा तरकारी कुहिएर गएको अवस्था पनि छ ।’

नमुना कृषि फर्मका रुपमा विस्तार गर्न कृषि ज्ञान केन्द्रबाट आर्थिक वर्ष २०७९/८० मा रु दुई लाख ८९ हजार अनुदान सहयोग पाएको राईले बताए । आफूले गरेको कृषि कर्मलाई राम्रो देखेर राज्यको आँखा परेकामा खुसी लागेको उनको भनाइ छ । ‘लामो समयबाट कृषिमा लागेको छु’, उनले भने, ‘तर मैले राज्यका तर्फबाट खास सहयोग पाएको थिइनँ। यो पटक भने राज्यले सहयोग गरेको छ। यसले मलाई थप हौसला मिलेको छ ।’

युवा-लक्षित, महिला-लक्षित, राजमार्ग-लक्षित तरकारी खेती कार्यक्रम, नमुना कृषि कार्यक्रमलगायत योजना सञ्चालन गरेर कृषकलाई प्रोत्साहन गरिरहेको कृषि ज्ञान केन्द्रका प्रमुख गणेश खत्रीले बताए। राज्यले प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेपछि कृषिमा लाग्नेको सङ्ख्या बढेको उनको भनाइ छ ।

‘व्यावसायिक रुपमा कृषिमा लागेका कृषकलाई हामीले आवश्यक सहयोग गर्दै आएका छौँ’, उनले भने, ‘राज्यबाट यस्ता खालका प्रोत्साहनका कार्यक्रम सञ्चालन भएपछि कृषिमा लाग्नेको सङ्ख्या यो जिल्लामा बढेको अवस्था छ । यसलाई अझ व्यवस्थित र प्रभावकारी कसरी बनाउन सकिन्छ भनेर हामी लागिपरेका छौँ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार