माधव नेपाल समूहले बोलायो केन्द्रीय कमिटी बैठक

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । पार्टीभित्रको आफ्नो पछिल्लो राजनीतिक परिस्थितिमा साझा धारणा बनाउने गरि शुक्रबार बिहान ११ बजे बैठक बोलाइएको हो । बैठक कलंकीस्थित मेघा पार्टी प्यालेसमा बस्ने सो समूहका केन्द्रीय सदस्य राजेन्द्र राईले जानकारी दिए ।

फागुन २३ गते सर्वोच्च अदालतले फैसलामार्फत् एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि एमालेभित्र विवाद देखिँदै आएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली समूहले आफू पक्षको बैठक बसेर विधान संशोधन गर्ने, पदमुक्त गर्ने, जिम्मेवारी तोक्ने लगायतको काम गर्दै आएको छ ।

चैत ७ गते बसेको सो समूहको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता नेपालसँगै भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । महासचिव ईश्वर पोखरलले सोमबार स्पष्टीकरण पत्र काट्दै तीन दिनभित्र जवाफ दिन भनेका छन् ।

नेपाल समूहका नेताहरुका अनुसार स्पष्टीकरणको जवाफ तयार भइरहेको छ । यसका लागि नेपाल समूहका स्थायी कमिटी सदस्यहरुबीच बुधबार छलफलसमेत भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार