दोलखा पहिरोमा परेका चारमध्ये दुई जनाको शव फेला

दोलखाको गौरीशंकर गाउँपालिका–७ मार्वुको टोपाटारमा पहिरोमा पुरिएर बेपत्ता भएका चार मध्ये दुई जनाको शव फेला परेको छ ।

पहिरोस्थलमा बालक र एक जना महिलाको शव फेला परेको हो । शुक्रबार विहान गौरीशंकर गाउँपालिका–७ का टोपवहादुर थामीका १५ महिनाका छोरा प्रिन्स थामीको शव फेला परेको थियो भने दिउँसो घटनास्थल नजिकै एक महिलाको शव फेला परेको छ ।

दोलखाका प्रहरी प्रमुख, डिएसपी दिपक खड्काले पहिरोमा पुरिएर बेपत्ता भएकी स्थानीय ५० वर्षीया देवीमाया मगरको शव फेला परेको जानकारी दिए ।

बिहीबार राति बस्तिमाथि वाट खसेको पहिरोले टोपाटारका ५ घरमा क्षेति पु¥याउनुको साथै एक बालकसहित चार जना बेपत्ता भएका थिए ।

पहिरोमा पुरिएर बेपत्ता भएका स्थानीय ४९ वर्षीय हरिलाल श्रेष्ठ र ६० वर्षीय कृष्णवहादुर मगरलाई अझै फेला पार्न सकिएको छैन ।

नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी सहितको सुरक्षा फौज र स्थानीयवासीले बेपत्ता भएकाहरुको खोजी कार्य जारी राखेका छन् ।

त्यस्तै पहिरोमा परी सख्त घाइते भएका दुई जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । घाइते भएका ४० वर्षीय यज्ञबहादुर थामी र उनकी ३९ वर्षीया श्रीमती धनमाया थामीको हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि काठमाडौं ल्याइएको हो ।

पहिरोमा परी घाइते भएकी बुहारी सीता थामीको उद्धारपछि सिंगटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार