सुन तस्करी प्रकरण अनुसन्धान अब सीआईबीले गर्ने

गत साउन ३ गते बरामद भएको १०० किलो सुन प्रकरणको अनुसन्धान अब नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को नेतृत्वमा हुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार भएको उच्चस्तरीय छलफलपछि सुन तस्करी प्रकरणको अनुसन्धान नेतृत्व सीआईबीलाई दिन लागिएको हो ।

सो विषयमा बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको संवैधानिक परिषद् बैठकलगत्तै प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह प्रशासनसँग छलफल गरेका थिए । प्रधानमन्त्री प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्का उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यसहितको बैठकले उक्त निर्णय लिएको हो ।

हङकङ हुँदै त्रिभुवन विमानस्थल भन्सार छलेर भित्र्याइएको १०० किलो सुन राजस्व अनुसन्धानले बरामद गरेर अनुसन्धान अघि बढाइरहेको अवस्थामा अब त्यसको नेतृत्वको सीआईबीको हातमा जाने भएको हो ।

बैठकमा सहभागी प्रहरी महानिरीक्षक वसन्त कुँवरका अनुसार सुन तस्करी प्रकरणमा अहिलेसम्म राजस्वले जेजति अनुसन्धान गरेको छ, त्यसको सबै फाइल सीआईबीलाई बुझाएर छानबिन अघि बढाउने निर्णय भएको छ ।

कुँवरका अनुसार अब सीआईबीको नेतृत्वमा राजस्व अनुसन्धान विभागसँग पनि समन्वय गरेर अनुसन्धान हुने भएको छ ।

क्विन्टल सुन प्रकरणमा हाल राजस्व अनुसन्धान विभागमार्फत अनुसन्धान जारी छ । विभागबाट भइरहेको अनुसन्धानले अपराधमा संलग्नको नेक्सन पत्ता लगाए पनि यो संगठित र अन्तरदेशीय अपराध भएकोले जरैसम्म पुग्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट अनुसन्धान हुनुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ । विभाग आफैं प्रधानमन्त्री मातहतको निकाय हो ।

उक्त प्रकरणमा अब राजस्वसँग भएका र प्रहरीसँग भएका सूचनाहरु एकै ठाउँमा ल्याएर विश्लेषण गर्ने बताइएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार