माओवादीले केन्द्रीय कमिटीमा २२ महिला सदस्य थप्ने

नेकपा माओवादी केन्द्रले थप २२ जना महिला नेतालाई केन्द्रीय सदस्य बनाउने भएको छ ।

२०७८ पुसमा सम्पन्न नवौं महाधिवेशनले केन्द्रीय कमिटीमा महिलाको संख्या ३५ प्रतिशत पुर्‍याउने निर्णय गरेपनि हालसम्म कार्यान्वयन भएको थिएन ।

आजदेखि सुरू हुने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्ने सांगठनिक प्रतिवेदनमा ३५ प्रतिशत महिला पुर्‍याउन २२ जना थप्ने प्रस्ताव गरिएको छ ।

निर्वाचन आयोगमा दलका सदस्यहरूको विवरण बुझाइहाल्नुपर्ने भएकाले माओवादीलाई तत्काल केन्द्रीय कमिटीमा ३५ प्रतिशत महिला पुर्‍याउनुपर्ने बाध्यता छ । त्यसका लागि २२ जना महिला थप्ने प्रस्ताव अध्यक्ष प्रचण्डले सांगठनिक प्रतिवेदनमा प्रस्ताव गरेका हुन् ।

उनको प्रस्तावलाई केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेपछि केन्द्रीय कमिटीमा २२ महिला नेता थपिनेछन् । माओवादी केन्द्रको केन्द्रीय समितिमा हाल ३८७ सदस्य छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार