जुवा खालबाट समातिए वडाध्यक्षदेखि प्रदेश नेतासम्म

कैलालीको धनगढीमा जुवाखालबाट जनप्रतिनिधि तथा नेतासहित १० जना समातिएका छन् ।

मंगलबार धनगढी उपमहानगरपालिका-४ बसपार्कमा रहेको कलेल होटलबाट पूर्वीचौकी गाउँपालिका- २ का वडाध्यक्ष योगेन्द्र ठकुल्ला र सोही पालिकाको ५ का अध्यक्ष खडक साउद परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

पक्राउ पर्नेहरूमा होटल सञ्चालक तेजबहादुर कलेलसहित अन्य कर्मचारी, शिक्षक तथा नेताहरू छन् ।

पूर्वीचौकी गाउँपालिका बस्ने एकीकृत समाजवादी पार्टीका प्रदेश कमिटी सदस्य देवलाल खड्का र सोही पालिका बस्ने माओवादीका प्रदेश कमिटी सदस्य धनबहादुर विष्ट पनि प्रहरी फन्दामा परेका छन् । पक्राउ परेका गोदावरी नगरपालिका–३ का कुवेर खड्का नेपाली कांग्रेसको पूर्वजिल्ला सदस्य रहेको खुलेको छ ।

डोटीको दीपायल सिलगढी नगरपालिकाका सुजित खड्का पनि प्रहरी नियन्त्रणमा छन् । उनी खानेपानी तथा सरसफाइका कर्मचारी रहेको खुलेको छ ।

यस्तै, पूर्वीचौकी गाउँपालिका–१ का पुरन बहादुर खड्का शिक्षक रहेको खुलेको छ । यस्तै, पक्राउ पर्नेमा पूर्वीचौकी गाउँपालिका–३ का अमित बोहरार सोही पालिकाको वडा नं. २ का अविनाश कठायत पनि छन्।

जुवाखालबाट एक लाख ४ हजार ८१० रुपैयाँ र तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपवी कुलदीप चन्दले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेकाहरूविरुद्ध आज मुद्दा दर्ता गरेर कानुनी कारबाही अघि बढाइनेछ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार