दृष्टिविहीनको प्याराग्लाइडिङ अनुभव : ‘सपना देख्न आँखा होइन, हिम्मत चाहिन्छ’

साहसिक खेल प्याराग्लाइडिङ गरेर फेवाताल किनारमा उत्रिएपछि सुनीता दबाडीमा खुसीको सीमा थिएन । पहिलोपटक जीवनमा सोमबार दिउँसो प्याराग्लाइडिङ गरेको अनुभव उनले शब्दमा व्यक्त गर्न सकिरहेकी थिइनन् ।

शारीरिकरूपमा दृष्टिविहीन सुनिता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टेलिफोन ‘अपरेटर’को काम गर्छिन् । ‘ब्लाइन्ड रक’ संस्थाको सदस्यसमेत रहेकी उनी प्याराग्लाइडिङको अनुभवका लागि आइतबार दिउँसो पोखरा आएकी थिइन् ।

पोखरा आएसँगै उनमा प्याराग्लाइडिङ गर्न मौसमले साथ देला कि नदेला भन्ने चिन्ता थियो । जब बिहान उनी ‘टेकअफ’का लागि मान्द्रेढुङ्गा पुगिन्, उनले त्यसपछि आफ्नो खुसी थाम्न सकिनन् । “प्याराग्लाइडिङमा उड्ने पहिलादेखिकै योजना थियो । कहिले उड्न पाइएला भन्ने लागेको थियो । जाने बेला सहज हुन्छ कि भन्न भनेर मनमा लागिरहेको थियो”, उनले भनिन्, “उडेर हावाको प्रेसरले माथि माथि जाँदा, दिशा परिवर्तन भएको अनुभव गर्न पाइयो । एकदमै रमाइलो लाग्यो ।”

पोखराको आकाशमा सुनीताजस्तै सोमबार दुई विदेशीसहित १० दृष्टिविहीनले हावामा कावा खाँदै प्याराग्लाइडिङ गरे । साहसिक खेल प्याराग्लाइडिङ गर्न जो–कोही तत्कालै तयार हुँदैनन् । यसका लागि साहस चाहिन्छ, तर शारीरिकरूपमा फरक क्षमता भएका दृष्टिविहीनले समेत साहसिक खेलकुदको मज्जा लिए । दृष्टिविहीनलाई प्याराग्लाइडिङको अवसर भने ‘ब्लाइन्ड रक्स’ संस्थाले मिलाएको थियो । प्याराइलाइडिङ गर्नेहरु एक–दुई जनाबाहेक सबैको पहिलो अनुभव थियो ।

बाग्लुङकी चाँदनी शर्मा पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययन गर्नुहुन्छ । उहाँ समेत प्याराग्लाइडिङ गरेपछि उत्साहित हुनुहुन्थ्यो । उहाँले कहिल्यै पनि हावामा कावा खाँदै रमाउने कल्पनासमेत गर्नुभएको थिएन । उहाँको भन्नुभयो, “आकाशमा उड्ने कहिल्यै कल्पनासमेत गरेकी थिइनँ, नयाँ अनुभव हासिल भयो, मनमा खुुसीको सीमा नै छैन ।”

चाँदनीले दृष्टिीविहीनलाई प्याराग्लाइडिङ गराउने भन्ने केही दिनदेखि नै थाहा पाएकी थिइन् । तर आफूले पाउँछु कि पाउँदिन भन्ने उनलाई थाहा थिएन । अघिल्लो दिनमात्र गर्न पाउने भन्ने उहाँले जानकारी पाइन् । उनले भनिन्, “मैले गर्ने भनेर सृष्टि दिदीबाट अघिल्लो दिनमात्र थाहा भयो । आकाशमा उड्ने भनेपछि कस्तो हुने, आकाशमा कस्तो हुन्छ होला भन्ने थियो । तर उडिसकेपछि सबै अनुभव गर्न पाइयो ।”

ब्लाइन्ड रक संस्थाका संस्थापक अध्यक्ष सृष्टि केसीको प्याराग्लाइडिङको दोस्रो अनुभव थियो । उनले नै यस कार्यको अग्रसरता लिइन् र आफ्ना साथीहरूलाई अवसर प्रदान गरेकी थिइन् । सफलतामा पुग्न अपाङ्गता र दृष्टिविहीनताले छेक्दैन भन्ने सन्देश प्रवाह गर्न ‘इन्क्लुसिभ प्याराग्लाइडिङ’ गराइएको केसीले बताइन् ।

उनले भनिन्, “यो समावेशी पर्यटन प्रवर्द्धन हो । यसबाट सफलतामा पुग्न अपाङ्गता र दृष्टिविहीनताले छैक्दन भन्ने सन्देश दिएको छ । जीवनमा उचाइमा पुग्न सफलता प्राप्त गर्न दृष्टिविहीनतामा सीमित हुन जरुरी छैन । त्यो न्दा माथि उठ्न सक्छौँ, उड्न सक्छौँ ।”

उनको प्याराग्लाइडिङको अनुभवन पनि रोमाञ्चक छ । बादलभित्र हराउँदाको खुसी उनले शब्दमा व्यक्त गर्न सकिनन् । उनले भनिन्, “मेरो पाइलटले बादल छुवाउन लैजानुभयो । बादलमाथि पुग्ने उचाइमा पुग्ने सपना पूरा भएको छ, म बादललाई स्पर्श गरिरहेकी थिएँ । बादलभित्र हराउँदाको खुसीले मनमा छुट्टै उत्साह र ऊर्जा मिल्यो । जीवनमा सपना देख्न आँखा होइन, हिम्मत र आत्मबल चाहिन्छ र त्यो कहिल्यै पनि अपाङ्गता हुँदैन ।”

प्याराग्लाइडिङ पाइलट राम गौतम दृष्टिविहीनलाई उडाएको आफ्नो पहिलो अनुभव रहेको बताए । अन्य सामान्य नागरिकले आफैँले देखेर आनन्दित हुने खुसीमा रमाउने गरे पनि दृष्टिविहीनलाई पाइलटले वर्णन गरिदिँदा उनीहरूमा समेत अन्य नागरिकसरह उत्साहित भएको उनले बताए ।

उनले भने, “सामान्य नागरिक उडान भर्दा हिमाल, ताल, डाँडाकाँडा देखेर रमाउनुहुन्छ । दृष्टिविहीनलाई हामीले तपाईँ तालमाथि हुनुहुन्छ, बादलभित्र हुनुहुन्छ भनेर वर्णन गर्छौैँ, यसो भन्दा उहाँहरूसमेत उत्साहित हुनुहुन्छ ।”

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार