हवाई टिकटमा भ्याट : नेपालबाट उड्दा लाग्ने, फर्किंदा नलाग्ने

सरकारले सोमबारबाट लागू गरेको हवाई टिकटमा लागेको मूल्य अभिवृद्धि कर (भ्याट) नेपालबाट बाहिरिने यात्रुलाई मात्र लाग्ने भएको छ । आन्तरिक राजस्व विभागले जारी गरेको सूचनामा नेपाल भित्रिने यात्रुले भने हवाई टिकट खरिद गर्दा भ्याट नलाग्ने उल्लेख छ ।

चालू आर्थिक वर्ष २०८०र८१ को बजेटमार्फत नेपालमा पहिलोपटक हवाई टिकटमा भ्याट लगाउने निर्णय गरेको थियो । विभागका अनुसार अन्तर्राष्ट्रिय हवाई सेवाका हकमा नेपालबाट प्रस्थान गर्ने यात्रुको टिकटमा उल्लेखित गन्तव्यसम्मको हवाई टिकटको मूल्यमा भ्याट (१३ प्रतिशत) संकलन गर्नुपर्ने छ ।

त्यस्तो अन्तराष्ट्रिय उडानको हवाई टिकट नेपालभित्र वा नेपाल बाहिर जहाँसुकैबाट जुनसुकै माध्यम (अनलाइनसमेत) बाट जारी वा खरिद गरे पनि हवाई यातायात सेवा प्रदायक (एयरलाइन्स कम्पनी) ले हवाई टिकटमा भ्याट संकलन गर्नुपर्ने हुन्छ ।

दुवैतर्फको हवाई टिकट जारी गर्दाको हकमा विदेशबाट नेपाल आउँदाको हवाई टिकट मूल्यमा भ्याट संकलन गर्नुपर्ने छैन । नेपालबाट प्रस्थान नहुने तर नेपालमा दर्ता भएका व्यक्तिले हवाई टिकट जारी गरेको हकमा भ्याट असुल गर्नुपर्ने छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार