उपत्यकाबाट फोहोर बोकेर बञ्चरेडाँडा गएका गाडी रोकिए

बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर बिसर्जन गर्न नदिने भन्दै नुवाकोटको ककनी र धादिङको धुनीबेंसीका स्थानीय र जनप्रतिनिधि आन्दोलनमा उत्रिएका छन् । यसअघि सरकार र काठमाडौं महानगरसँग भएका सहमति एक वर्ष हुँदा पनि कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहोर विसर्जन गर्न रोक लगाएका हुन् ।

फोहोर र मानिसलाई सँगै राख्‍न नमिल्ने भन्दै आफूहरुले पटक पटक माग राख्दा पनि सुनुवाइ नभएकाले आन्दोलनमा उत्रनु परेको ककनी गाउँपालिकाका ३ का वडाध्यक्ष घननाथ बजगाईंले बताए । सोमबार बिहानैदेखि वडाध्यक्ष बजगाईंसहितको टोलीले बन्चरेडाँडा नजिकैको आलेटार क्षेत्रमा फोहोर बोकेर गएका उपत्यकाका गाडीहरुलाई अवरोध गरेका छन् ।

आज बिहान फोहोर बोकेर ल्याण्डफिल्ड साइटमा जाँदै गरेका गाडीहरु स्थानीयको अवरोधका कारण बन्चरेडाँडा र सिसडोलको बिचमा रोकिएका छन् । फोहोर बोकेका करिब ५० वटा गाडी स्थानीयले रोकेको काठमाडौं महानगरपालिकाका ल्याण्डफिल्ड साइट इन्चार्ज सरकारदीप श्रेष्ठले जानकारी दिए ।

स्थानीयले सहमतिका नाममा आफूहरुलाई पटक-पटक झुक्याइएको आरोप लगाएका छन् । सरकारले यसअघि गल्ने र नगल्ने फोहोर वर्गीकरण गरेर गल्ने फोहोर मात्र विसर्जन गर्नेलगायतका सहमति ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका बासिन्दासँग गरेको थियो । तर अहिले महानगरले वर्गीकरणविना फोहोर संकलन गर्दै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार