नयाँ आर्थिक वर्ष सुरु, आजदेखि कार्यान्वयनमा आउँदै छन् यी कर

आजदेखि आर्थिक वर्ष २०८०/८१ सुरु भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले घोषणा गरेका विभिन्न कर सम्बन्धी व्यवस्था कार्यान्वयनमा आएका छन् ।

संवैधानिक व्यवस्था अनुसार सरकारले यस आवका लागि जेठ १५ गते नै बजेट प्रस्तुत गरिसकेको छ ।

चालु आवका लागि सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपियाँको बजेट सार्वजनिक गरेको हो । जसमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड, पुँजीगततर्फ तीन खर्ब दुई अर्ब सात करोड र वित्तीयतर्फ तीन खर्ब सात अर्ब ४५ करोड रुपियाँ खर्च हुने सरकारको अनुमान छ ।

खर्च बेहोर्ने स्रोतमध्ये १२ खर्ब ४८ अर्ब ६२ करोड राजस्वबाट, दुई खर्ब ४० अर्ब आन्तरिक ऋणबाट, दुई खर्ब १२ अर्ब ७५ करोड वैदेशिक ऋणबाट र ४९ अर्ब ९४ करोड रुपियाँ अनुदानबाट प्राप्त हुने अनुमान सरकारको छ ।

आयकर ऐन २०५८ मा सरकारले गरेको संशोधित व्यवस्था अनुसार आज साउन १ गतेदेखि वार्षिक ५० लाख रुपैयाँभन्दा बढी कमाउनेलाई ३९ प्रतिशत आयकर लाग्ने छ । यसअघि वार्षिक २० लाख रुपैयाँभन्दा माथि कमाउनेहरुलाई ३६ प्रतिशत आयकर लाग्ने गरेको थियो ।

सरकारले पहिलोपटक सुरु गरेको विलासिता कर पनि आजैदेखि कार्यान्वयनमा आएको छ । सरकारले पाँचतारे वा सोभन्दा माथिका होटेल, रेस्टुरेन्ट तथा रिसोर्टहरुले प्रदान गर्ने सेवामा २ प्रतिशत विलासिता कर लगाएको छ । साथै सरकारले १० लाखभन्दा बढीको बहुमूल्य धातुमा पनि २ प्रतिशतकै दरले विलासिता शुल्क लगाएको छ ।

सरकारले आयातित मदिरा र १० लाख रुपैयाँभन्दा बढी मूल्यका हिरा, मोती, पत्थर जडित सुन वा बहुमूल्य धातुका गहनामा समेत सोही दरमा कर लागु हुने बजेटमा उल्लेख छ । यस्तो कर होटल तथा रिसोर्टले सेवा प्रदान गरेको बेला नै असुल गर्नुपर्ने भएको छ । आयातित मदिराको भन्सार विन्दुमै पैठारीका बेला असुली हुनेछ भने १० लाखभन्दा बढीका धातुका गहना बिक्रेताले असुल गर्नुपर्ने छ ।

यस्तै, ट्राभल एजेन्सीहरुले बिक्री गर्ने वैदेशिक भ्रमण प्याकेजमा पाँच प्रतिशत पर्यटन शुल्क पनि आजदेखि कार्यान्वयनमा आएको छ ।

सरकारले बजेटसँगै खर्चको स्रोत बेहोर्न नयाँ करका दरसमेत सार्वजनिक गर्छ । आर्थिक ऐनमार्फत सरकारले नयाँ करका दर लागु गर्छ । भन्सारसम्बद्ध कतिपय करका दर बजेट घोषणा भएकै दिन लागु हुन्छन् भने कतिपय करका दर आर्थिक वर्ष सुरु भएको दिनदेखि कार्यान्वयनमा आउँछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार